श्रम स्वीकृति नवीकरण नगर्दा वैदेशिक रोजगारीमा गएका श्रमिक राज्यको सुविधाबाट वञ्चित

शनिबार, १६ पुष, २०७९
डिजिटल संस्करण

गत १७ कात्तिकमा वैदेशिक रोजगारीमा गएका २२ वर्षीय अब्दुल हकिम मियाको शव कतारबाट नेपाल आइपुग्यो । साढे तीन वर्षदेखि प्लम्बर भिसामा रहेका उनको शव बुबा मोहम्मद मियाले बुझेर अन्तिम संस्कार पनि गरे । प्लम्बर भिसामा गए पनि कतारमा उनलाई स्टोरमा काम लगाइएको मृतकका बुबा मियाले बताए । सोही स्थानमा काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भयो । तर, वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीले उनलाई क्षतिपूर्ति दिन नमानेको उनले गुनासो गरे । ‘सबै कागज लिएर बोर्डमा गयौँ । तर, बोर्डका कर्मचारीले अब्दुलको श्रम सकिएको रहेछ भन्दै रकम पाउँदैनौ भने,’ उनले निराश हुँदै भने । बोर्डले उनलाई दाहसंस्कारबापत २५ हजार रुपैयाँसम्म दिने बताएको छ । दुई वर्षको स्वीकृति लिएर कतार गएका उनको मृत्यु हुँदा श्रम स्वीकृति सकिएको एक वर्षभन्दा पनि बढी भइसकेको रहेछ । सोही कारण उनले नेपालमा कुनै पनि सहयोग रकम पाएनन् । 

सिराहाका ४२ वर्षीय रामकुमार सदाले साउदी अरबबाट बिदामा नेपाल आउन टिकट काटेका थिए । तर, फर्कने तीन दिनअगाडि उनको साउदी अरबमा नै मृत्यु भयो । कारपेन्टर भिसामा साउदी गएका उनको काम गर्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर एकजना विदेशी कामदारसहित घटनास्थलमा नै मृत्यु भयो । सात वर्षदेखि साउदीमा काम गर्दै आएका उनी बीचमा एकपटक मात्रै नेपाल आए । मृत्युपछि उनका भाइ मदनकुमार सदाले उनको शव बुझे र परिवारले उनको दाहसंस्कार पनि गरे । कम्पनीले उनको बाँकी पारिश्रमिक पनि पठाउने प्रक्रियामा छ । तर, वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीबाट पाउने क्षतिपूर्ति उनको परिवारले पाउन सकेन । बोर्डले श्रम स्वीकृतिको अवधि सकिएकाले क्षतिपूर्ति रकम भुक्तानी गर्न नसक्ने जानकारी दिएको मृतक सदाका भाइ मदनकुमार सदाले बताए । उनका अनुसार बोर्डले दाहसंस्कारबापत २५ हजार रुपैयाँ मात्रै भुक्तानी गर्ने आवश्वासन दिएको उनको भनाइ छ । 

श्रम स्वीकृति नवीकरण नगरेकै कारण सरकार र बिमाबापत पाउनुपर्ने क्षतिपूर्ति रकम नपाउने अब्दुल र रामकुमार मात्रै होइनन् । यस्तो समस्या लिएर दैनिक एक–दुईजना कामदारका परिवार वैदेशिक रोजगार बोर्डमा आउने गरेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए । 

विभिन्न माध्यमबाट रोजगारीमा गएका वा विदेशमा नै रहँदा श्रम स्वीकृति नै नगरी रोजगारीमा बसिदिनाले त्यस्ता कामदारलाई कानुनअनुसार क्षतिपूर्ति दिन नसकिएको उनको भनाइ छ । ‘कामदारका परिवार आउनुहुन्छ । हामीलाई उहाँहरूप्रति सहानुभूति पनि छ । तर, श्रम स्वीकृति सकिएकाले कानुनतः उहाँहरू अवैधानिक हुनुहुन्छ । तसर्थ, हामी भुक्तानी गर्न सक्दैनाैं,’ उनले भने । 

सबैखालको श्रम स्वीकृति अनलाइनबाटै, तर श्रमिक अनभिज्ञ
वैदेशिक रोजगार विभागले यो वर्षदेखि श्रम स्वीकृतिसम्बन्धी सबै खालको सुविधा अनलाइनबाट नै उपलब्ध गराएको छ । तैपनि, लक्षित कामदारले भने यसको फाइदा लिन सकेका छैनन् । 

विभागले ०७८ साल माघ २ गतेदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट नै लिन सकिने व्यवस्था गरेको हो । यसअघि श्रम स्वीकृतिको अवधि सकिएका कामदारले नेपालमा नै आएर पुनः श्रम स्वीकृति लिनुपर्ने व्यवस्था थियो । त्यस्तै, ०७९ वैशाख २ देखि संस्थागत श्रम स्वीकृति अनलाइनबाट गर्न सकिने व्यवस्था गर्‍यो । साथै, ०७९ जेठ ६ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट नै गर्न सकिने व्यवस्था गरियो । योसँगै श्रम कार्यालयमा लाइन लागेर स्वीकृति लिइनुपर्ने बाध्यता पनि अन्त्य भयो । कामदारले कुनै पनि ठाउँमा बसेर श्रम स्वीकृति लिन सक्ने भए । 

तर, गन्तव्य मुलुकमा रहेका कामदारले पनि अनलाइन श्रम स्वीकृतिको प्रयोग भने नगरेको देखिन्छ । श्रम स्वीकृति नवीकरण नगरेको समस्या देखिन थालेपछि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले एक सूचना नै जारी गरेको थियो ।  

अनलाइन श्रम स्वीकृतिका सम्बन्धमा दैनिक २० जनाको गुनासो आउँछ
श्रम स्वीकृति नवीकरणको विषयलाई लिएर मन्त्रालयमा दैनिक २० जना कामदारको गुनासो आउने गरेको कल सेन्टरले जानकारी दिएको छ । विशेष गरी साउदी अरबबाट कामदारले श्रम स्वीकृतिको समस्या सुनाउने गरेको कल सेन्टरले जनाएको छ । त्यस्तै, युएई र मलेसियाबाट पनि यस्ता गुनासो आउने गरेका छन् । कल सेन्टरमा अधिकांश कामदारले ह्वाट्सएप र इमोबाट समस्या सुनाउने गरेका छन् । कल सेन्टरमा आएका यस्ता गुनासोको सम्बोधनका लागि वैदेशिक रोजगार कार्यालयसँग सहकार्य गरी आवश्यक सल्लाह दिइने कल सेन्टरमा कार्यरत कर्मचारीहरू बताउँछन् । 

घाइते र मृतक कामदारले पाउने सुविधा
श्रम स्वीकृति लिएर गएका कामदारको श्रम अवधिमा गन्तव्य मुलुकमा नै मृत्यु भएमा कामदारका परिवारले वैदेशिक रोजगार बोर्डबाट सात लाख रुपैयाँसम्म सहयोग रकम पाउँछन् । त्यस्तै, मृतक कामदारका छोराछोरीले अध्ययनका लागि सहयोग रकम प्राप्त गर्छन् । आठ कक्षासम्म अध्ययनका लागि छोराछोरीले वार्षिक आठ हजार र सोभन्दा माथि अध्ययनरत छोराछोरीले वार्षिक १२ हजार रुपैयाँ सहयोग रकम पाउँछन् । 

त्यस्तै, मृतक कामदारका दम्पती, छोराछोरी, आमा र बुबाले पाँच प्रकारका घातक रोग (किड्नी फेल, मुटु रोग, क्यान्सर, अल्जाइमर, पार्किन्सन) लागेमा उपचारका लागि ५० हजार रुपैयाँसम्म प्राप्त गर्छन् । तर, घाइते भएमा अवस्था हेरीकन वैदेशिक रोजगार बोर्डले न्यूनतम सात हजारदेखि अधिकतम सात लाख रुपैयाँसम्म प्रदान गर्छ । कामदारको दाहसंस्कारका लागि २५ हजार रुपैयाँसम्म पाउँछन् भने बोर्डले नै शव घरसम्म ढुवानी गर्छ । 

त्यस्तै, कामदारले वैदेशिक रोजगारी म्यादी जीवन बिमाबापत कम्तीमा १० लाख र बढीमा १४ लाख रुपैयाँसम्म पाउने वैदेशिक रोजगार बोर्डले जनाएको छ । कम्पनीले बिमितको उमेरअनुसार बिमा रकम भुक्तानी गर्छ । तर, श्रम स्वीकृति अवधि सकिएका कामदारले यी कुनै पनि सुविधा प्राप्त गर्दैनन् । 

कसरी गर्ने अनलाइन नवीकरण ?
कामदारले यथास्थानमा रहेर अनलाइन माध्यमबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था छ । यसका लागि कामदारले वैदेशिक रोजगार विभागले निर्माण गरेको एफइआइएमएस गएर नवीकरण गर्न सक्नेछन् । जहाँ कामदारले अवधि रहेको राहदानी, कामदार भिसा र कम्पनीसँग भएको सम्झौतापत्रसमेत अपलोड गर्नुपर्नेछ । 

त्यस्तै, सोही वेबसाइटमा गएर कामदारले वैदेशिक रोजगार म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकमसमेत भुक्तानी गर्न सक्नेछन् । कामदारको उमेरअनुसार बिमा रकम तोकिएको छ । थोरैमा चार हजार दुई सय र धेरैमा नौ हजार चार सयसम्ममा बिमा रकम भुक्तानी गर्नुपर्नेछ भने एक हजार पाँच सय कल्याणकारी कोषको रकम भुक्तानी गर्नुपर्नेछ । रकम भुक्तानीका लागि विभिन्न पेमेन्ट वालेटको प्रयोग गर्न सक्नेछन् । विभागले ०७१ सालदेखि डिजिटल तथ्यांक संकलन गर्न सुरु गरेको हो भने ०७९ जेठदेखि सबैखालको श्रम स्वीकृति पनि अनलाइन गर्न सुरु गरेको हो । 

कामदारले नजानेर यस्तो समस्या आउँछ  : दीनबन्धु सुवेदी, श्रम सहचारी, युएई

कतिपय कामदारले श्रम स्वीकृति नवीकरण गर्न हेलचेक्र्याइँ गर्छन् भने कतिपयले अनलाइनबाट स्वीकृति लिन जान्दैनन् । पहिलोपटक दुई वर्षको श्रम स्वीकृति लिएर आउँछन् ।

अवधि सकिएपछि रोजगारदाताले मन परायो भने अर्को दुई वर्षको अवधि थपिदिन्छ । कामदार र रोजगारदाता दुवै सहमति भएपछि किन स्वीकृति लिनुपर्छ र भन्ने खालको अनभिज्ञता छ कामदारमा ।

त्यसैले श्रम मन्त्रालयले पनि कामदारको मोबाइलमा नै श्रम स्वीकृति नवीकरण गर्नुपर्ने वेला आयो है भन्ने खालका सूचना दिने केही संरचना बनाउनुपर्छ । 

अनलाइन नवीकरणलाई सहजीकरण गर्न भनेका छाैं : एकनारायण अर्याल, सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
श्रम नवीकरणको समस्या देखिएपछि हामीले गन्तव्य मुलुकमा दूतावासलाई नवीकरणका लागि सहजीकरण गर्न पत्राचार गरेका छौँ ।

कामदारले नवीकरणका लागि कल्याणकारी कोषको शुल्क र बिमाबापतको शुल्क दूतावासमा नै भुक्तानी गर्न सक्छन् ।

नेपालमा रहेका कामदारका परिवारले भुक्तानी गर्न पनि सक्छन् वा कामदार आफैँले अनलाइनमार्फत भुक्तानी गर्न पनि सक्छन् । त्यस्तै, कामदारलाई नवीकरणका कारण झकझकाउन हामीले मोबाइलमा सूचना दिने व्यवस्था पनि गर्दै छाैँ । 

सुझावित समाचार