अवैध बाटो हुँदै अमेरिका हिँडेका मदन पानामाको जंगलमा अस्ताए

शनिबार, १६ पुष, २०७९
डिजिटल संस्करण

अमेरिका जाने सपना साँचेर रुकुम पश्चिम आठबिसकोट नगरपालिका– १० भयाउनेका २० वर्षीय मदन शाही गत १८ फागुनमा घरबाट निस्किए । उनले हिँड्न खोजेको बाटो ‘अवैध’ थियो, लैजान्छु भन्ने पनि अवैध थिए । उनको त्यो अवैध यात्रा पानामाको जंगलमा पुगेर टुंगियो । 

गत २५ मंसिरमा पानामाको जंगलमा खोला तर्ने क्रममा डोरी चुँडिएपछि मदन खोलामा बगे । मदन मात्र बगेनन्, उनी र उनीसँग जोडिएको परिवारका सपना पनि बगे । मदनको मृत्यु भएको लामो समयसम्म परिवारले चाल पाएको थिएन । अमेरिका पुगेर छोरोले फोन गर्ला भनेर कुरेर बसेका आमाबुबा बिहीबार मर्माहत हुन पुगे, जब मदनको मृत्युको खबर घरमा पुग्यो । 

मदनका साइँला दाइ कपिलका अनुसार ११ डिसेम्बरमा मृत्यु भएको खबर बिहीबार आइपुग्यो । मदनसँगै गएका अन्य नेपाली ब्राजिलमा पक्राउ परेपछि नेपाल फर्काइएका थिए । तर, मदन अन्य केही विदेशीसँग अगाडि बढे । तर, गन्तव्यमा पुग्नुअघि नै विश्राम लिन बाध्य भए । मृत्युको खबरले बाबुआमा विक्षिप्त बनेका छन् । ‘कैयौँ सपना बनेर भाइ अमेरिका हिँडेको थियो,’ कपिलले भने, ‘भाइसँगै ती सपना त मरे मरे, हाम्रो खुसी पनि निभेर गयो ।’ 

कपिलले दिएको जानकारीअनुसार अमेरिका पठाउने प्रयोजनका लागि ४० लाख रुपैयाँ खर्च भइसकेको छ । एकातिर परिवारको सदस्य गुमेको चोट छ, अर्कोतिर थपिएको आर्थिक भार । मदनको शव नेपाल ल्याउन पहल गर्न मदनका जेठा दाइ हर्कु काठमाडौं गएका छन् । मदन कुन माध्यमबाट त्यहाँसम्म पुगेका हुन् भनेर परिवारका सदस्यले केही बताएका छैनन् । प्लस टुसम्मको पढाइ सकेका मदन गाउँमा कुनै सम्भावना नदेखेपछि अमेरिकाको यात्रामा निस्किएको परिवारका सदस्यको भनाइ छ । 

क्यारेबियन सागरमा बेपत्ता छन् दुई रुकुमेली 
लाखौँ पैसा तिरेर ज्यानको बाजी लगाएर अवैध बाटो हुँदै अमेरिकाको यात्रामा निस्कनेमा रुकुमका धेरै छन् । यहाँका प्रत्येक घरबाट अमेरिका जाने प्रयास हुने गरेको छ । प्रतिव्यक्ति ६०–६५ लाखसम्म खर्च गरेर अमेरिका निस्कनेको लर्को छ । यस्तो जमातमा युवादेखि ५० कटेका सम्म छन् ।

धेरैजना अमेरिका पुगिसकेका पनि छन् । त्यसले अरूलाई जोखिम मोल्न आकर्षित गरेको छ । अवैध बाटोबाट अमेरिका जानेको संख्या मात्र बढेको छैन, बाटोमै ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । अवैध रूपमा अमेरिका निस्किएका यहाँका दुईसहित तीन नेपाली गत २५ कात्तिकदेखि क्यारेबियन सागरमा बेपत्ता छन् ।

कोलम्बियाबाट ब्राजिल छिर्ने क्रममा डुंगा पल्टिँदा रुकुम पश्चिमको मुसिकोट नगरपालिका– ५ का ४० वर्षीय रमेश गौतम, बाँफीकोट गाउँपालिका– ७ का २५ वर्षीय प्रदीप खत्री र प्युठानका काले गिरी बेपत्ता भएका हुन् । अब उनीहरूका परिवारले माया मार्न थालेको छ । रमेशकी श्रीमती लीला बोहरा फर्किनुहुन्छ कि भन्ने आस मर्दै गएको बताउँछिन् । 

बुढा बाआमा, श्रीमती, आठ वर्षका छोरा र १२ वर्षकी छोरीलाई घरमा छाडेर रमेश अमेरिका हानिएका थिए । १८ वर्ष नेपाली सेनामा सेवा गरेपछि स्वैच्छिक अवकाश लिएका रमेशले तीन वर्षजति मुसिकोटमै काम गरे । तर, सबै छरछिमेकी अमेरिका पुग्न थालेपछि उनलाई पनि अमेरिकाको भूत चढ्यो । घरका परिवारलाई मनाएर उनी दुबई हुँदै अमेरिकातिर लागेका थिए । 
 

See More On

सुझावित समाचार