जाडोमा महिलाको रोजाइमा उलनको कुर्था सेट

शुक्रबार, १५ पुष, २०७९
डिजिटल संस्करण

अहिले कपडा पसल, सपिङ मलहरूमा न्यानो दिने बाक्ला कपडाहरू देख्न सकिन्छ । यसपटक चिसो मौसममा महिलाहरूको रोजाइमा उलनका कुर्था परेको व्यवसायीहरूले बताएका छन् । उलनको कुर्था सेट युवतीदेखि पाका उमेरसम्मका महिलाको रोजाइमा पर्न सफल भएको सरिनाज कलेक्सनकी सञ्चालक दिलमाया श्रेष्ठले बताइन् । ‘दिनप्रतिदिन चिसो बढ्दै छ । त्यसैले अहिले युवतीहरूको रोजाइमा उलनका कुर्था परेको देखिन्छ,’ श्रेष्ठले भनिन्, ‘यो स्टाइलिस देखिन्छ र लगाउँदा पनि न्यानो हुन्छ ।’ चिसोमा लगाउन सकिने गरी बजारमा उलन टप सेट, उलन कुर्था, उलनका थान कपडा आएको उनले बताइन् । 

उमेरअनुसारको फेसन 
श्रेष्ठका अनुसार युवतीहरू टप्स कुर्था, पाइन्ट र सल लगाउन चाहन्छन् । त्यसैगरी, ४० भन्दा माथिका महिलाहरूको रोजाइमा उलनको कुर्था सुरुवाल सेट र थान कपडा पर्ने गरेको छ । थान कपडा तीन सय ५० देखि १५ सयसम्मका खरिद गरी आफूलाई मन परेको डिजाइनमा सिलाउन सकिने उनले बताइन् ।

चिसो मौसममा उलन कुर्था निकै आरामदायी हुने गरेको उपभोक्ता बताउँछन् । काठमाडौंकी सध्या देवकोटाले भनिन्, ‘यो चिसो मौसममा न्यानो कपडा लगाउनु परिहाल्यो, मचाहिँ प्रायः उलनको कुर्था सेट नै लगाउँछु, आकर्षक मात्र होइन, लगाउन सजिलो पनि छ ।’ 

उलनको कुर्था कामकाजी महिलाका लागि आरामदायी पहिरनको रूपमा रहेको भक्तपुरकी प्रिया खत्री बताउँछिन् । ‘मलाई फेसनसँगै आरामदायी पहिरनमा सजिन मन पर्छ, चिसोमा त न्यानो पनि चाहिन्छ, त्यसैले उलनको कुर्था लगाएर अफिस आउने गर्छु ।’ उलनको कुर्था सेटसँगै बाहिर लङ कोट तथा स्वेटर लगाउन आफूलाई मन पर्ने उनले बताइन् । 

चलेका डिजाइन
लङ स्ट्रेट कुर्था

यस कुर्थालाई तपाईंले प्लाजो, लेगिन्स वा जिन्ससँग लगाउन सक्नुहुन्छ । यस कुर्थाको दुवै साइडमा खल्तीसमेत हुने भएकाले कार्यालयमा काम गर्न जाने महिलाहरू यसलाई लगाउन मन गर्छन् । विवाह, पार्टी तथा विभिन्न महोत्सवमा जाँदा पनि यो कपडा लगाउन मिल्छ । बजारमा विभिन्न मूल्यमा यस्ता रेडिमेड कुर्थाहरू पाइन्छन् ।

क्याजुअल कुर्था
अधिकांश कुर्था डिजाइन क्याजुअल नै हुन्छन् । क्याजुअल कुर्था उलनका कपडबाट तयार गरिन्छ । विशेषगरी, युवापुस्ताको रोजाइमा यो कुर्था पर्ने गरेको छ । यो निकै हल्का र न्यानो हुन्छ र स्टाइलिस लुक्समा उपलब्ध हुन्छ । यसलाई जिन्स वा लेगिन्ससँग लगाउन सकिन्छ । 

ट्रेडिसनल कुर्था
बजारमा परम्परागत लुक्स दिने कुर्थाहरू पनि उपलब्ध छन् । प्रायः ४० कटेका महिलाको रोजाइमा पर्ने गरेको छ । तर, यो कुर्था युवतीहरूको रोजाइमा पनि छ । किनभने, यसलाई स्टाइलिस लुक्स दिन पनि मिल्छ । पराम्परागत लुक्समा बाउलामा बुट्टा भरेर नयाँ लुक्स दिने गरिन्छ । 

See More On

सुझावित समाचार