उज्वेकिस्तानले भारतीय औषधि निर्माता मेरियन बायोटेक उत्पादित खोकीको झोल औषधि (सिरप)को सेवनबाट १८ बालबालिकाको मृत्यु भएको जनाएको छ । यो कम्पनीको झोल औषधि ‘डक–१ म्याक्स सिरप’ को सेवनबाट २१ मध्ये १८ बालबालिकाको श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याले मृत्यु भएको उज्वेकिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
‘अस्पतालमा उपचारका लागि भर्ना हुनुअघि मृतक बालबालिकाले यो औषधि घरमै दुईदेखि सात दिनसम्म दैनिक तीनदेखि चारपटक २.५ देखि ५ एमएल खाएको पाइएको छ, जुन बालबालिकाका लागि औषधिको मानक डोजभन्दा बढी हो,’ मन्त्रालयले भनेको छ । बालबालिकाको मृत्यु कहिले–कहिले भयो भन्नेबारे विज्ञप्तिमा उल्लेख गरिएको छैन ।
उज्वेकिस्तानले २७ डिसेम्बरमा जारी गरेको विज्ञप्तिअनुसार त्यहाँ सन् २०१२ देखि डक–१ म्याक्स ट्याब्लेट र सिरप बिक्री भइरहेको थियो । प्रारम्भिक परीक्षणमा यो औषधिमा ‘इथाइलिन ग्लाइकोल’ नामक विषाक्त पदार्थको मिश्रण भेटिएको उज्वेकिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उज्वेकिस्तानको यो घटना गाम्बियाको घटनासँग मिल्दो छ । केहीअघि थुप्रै बालबालिकाको मृत्युमा भारतीय कम्पनी मैदन फर्मास्युटिकल उत्पादित खोकीका चारवटा झोल औषधि ‘सिरप’ मुख्य कारक भएको पाइएको थियो । त्यसपछि गाम्बियाले ती चारैवटा सिरपमाथि प्रतिबन्ध लगाएको थियो । गाम्बियामा उक्त भारतीय कम्पनी उत्पादित सिरपको सेवनबाट ७० भन्दा धेरै बालबालिकाको मृत्यु भएको थियो । इन्डोनेसियामा पनि मैदन निर्मित खोकीको झोल औषधिका कारण ९९ भन्दा धेरै व्यक्तिको मृत्यु भएको थियो ।
आफ्नो देशमा निर्मित औषधि बालबालिकाको मृत्युसँग जोडिएको विवरण सार्वजनिक भएपछि भारतले चासो देखाएको छ । भारतीय अधिकारीहरू २७ डिसेम्बरदेखि ‘उज्वेकिस्तानको राष्ट्रिय औषधि नियामकसँग नियमित सम्पर्कमा रहेको भारतको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । स्वास्थ्य अधिकारीहरूले उत्तर प्रदेशको नोएडा अवस्थित मेरियन बायोटेकको औषधि उत्पादनस्थलको निरीक्षण गरेका छन् । उत्पादनस्थलबाट औषधिको नमुना लिएर परीक्षणका लागि क्षेत्रीय औषधि परीक्षण प्रयोगशाला चण्डीगढमा पठाइएको विज्ञप्तिमा उल्लेख छ । भारतले विश्वको एकतिहाइ औषधि उत्पादन गर्छ । द्रुत वृद्धि भइरहेका औषधि कम्पनीहरूको घर भनिने भारतलाई ‘विश्वको फार्मेसी’ भनेर चिनिन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मैदन फर्मास्युटिकल्स लिमिटेडले उत्पादन गरेका खोकीका सिरपले मिर्गाैलामा गम्भीर असर गरेको भन्दै नखान चेतावनी दिइसकेको छ । तर, भारत सरकार र सम्बन्धित कम्पनीले भने अहिलेसम्म गल्ती भएको स्वीकार गरेका छैनन् ।
– एजेन्सी