नयाँ अर्थमन्त्रीको आगमनले सेयर बजार बढेको हो ?
सेयर बजार बढ्नु राजनीतिक परिवर्तनसँगै लगानीकर्ताको मनोवैज्ञानिक कारण हो । वित्तीय अवस्थामा पनि बिस्तारै सुधार र तरलता पनि सहज हुँदै आएकाले बजार बढ्नमा थप सहयोग पुगेको देखिन्छ । साथै, तल्लो बिन्दुमा रहेको कारोबार घट्दा बजार सकारात्मक बनेको मान्न सकिन्छ ।
अहिलेको वृद्धि दीर्घकालीन हो वा क्षणिक मात्र हो ?
बजार भनेको एकैपटक बढ्ने वा घट्ने हुँदैन । बीचमा प्रोफिट बुक हुँदै लगानीकर्ताको ‘पर्ख र हेर’को अवस्थासँगै बिस्तारै उकालो लाग्ने सम्भावना देखिन्छ । अर्थतन्त्रमा आएको सुधार र राजनीतिक कारणले पनि यसो भएको देखिन्छ ।
नयाँ अर्थमन्त्रीलाई सुझाव के छन् ?
पुँजीबजारलाई कसरी बलियो बनाउन सकिन्छ भनेर एउटा कोर टिम बनाई काम गर्न पाइयो भने धेरै कुरा सुन्न÷सुनाउन पाइन्छ । र, सोहीअनुसार कार्यान्वयनको पाटोमा जान सकिन्छ भन्ने लाग्छ । त्यसैगरी, नवनियुक्त अर्थमन्त्रीले नीतिगत सुधारमा जोड दिने र धितोपत्रका रोकिएका कामकारबाही अगाडि बढाउनुहुन्छ भन्ने अपेक्षा लिएको छु ।
यस्तो वेला लगानीकर्ताले कसरी लगानी गर्नुपर्छ ?
लगानीकर्ताले बजारलाई बुझेर मात्र लगानी गर्दा राम्रो हुन्छ । बजार बढेको देखेर खुसी हुने र घट्दा सर्वस्व गुम्यो भन्ने धारणा राख्नुहुँदैन । लगानी गर्ने कम्पनीको गहिरो अध्ययन गरेर, बजार घटे पनि म ठीक अवस्थामा छु भन्ने हुनुपर्छ । अब लगानीकर्ताले बजारलाई हेरी दीर्घकालीन लगानी गरून् भन्ने अपेक्षा छ ।
सुधार गर्नुपर्ने केही कुरा छन् ?
पुँजी बजारमा हुन सक्ने सानो–ठूलो चलखेललाई विशेष निगरानी गर्नुपर्छ । साथै, यसमा सुधार पनि गर्नुपर्ने आवश्यकता छ । विभिन्न अध्ययन प्रतिवेदनलाई हेरी प्राविधिक रूपमा बलियो बनाउँदै लगानीकर्तालाई पनि विश्वासमा लिएर अघि बढ्न आवश्यक छ ।