प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा तीनजनाको उम्मेदवारी

बिहिबार, १४ पुष, २०७९
डिजिटल संस्करण

प्रदेश १ सभामा संसदीय दलको नेता बन्नका लागि नेपाली कांग्रेसका तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्। सर्वसम्मत चयन हुन नसकेपछि  संसदीय दलको नेता बन्न कांग्रेस सांसदहरू अमृत अर्याल, उद्धव थापा र केदार कार्कीेले उम्मेदवारी दर्ता गराएका हुन्।

थापा नेता कृष्ण सिटौला समर्थक हुन् भने अर्याल संस्थापन तथा कार्की डा. शेखर कोइराला पक्षका हुन्। थापा कांग्रेस प्रदेश १ समिति सभापति र समानुपातिकबाट निर्वाचित सांसद हुन्। प्रत्यक्षबाट अर्याल कांग्रेसका केन्द्रीय सदस्य हुन्। अर्का उम्मेदवार कार्की प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हुन्। कार्की मन्त्री हुनुभन्दा अगाडि पहिलो कार्यकालका लागि कांग्रेसका प्रमुख सचेतक थिए।

संसदीय दलको नेताका लागि नेपाली कांग्रेसका नवनिर्वाचित २९ जना सांसदले भोलि शुक्रबार विराटनगरको बरगाछीस्थित कांग्रेसको प्रदेश पार्टी कार्यालयमा बिहान ९ देखि १० बजेसम्म मतदान गर्नेछन्। मतगणना पनि भोलि नै सम्पन्न हुने निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीले बताए।

प्रदेश १ सभामा कांग्रेसका समानुपातिकबाट १२ र प्रत्यक्षबाट १७ जना सांसद निर्वाचित भएका छन्। कांग्रेसको विधानअनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनुपर्ने भएकाले दलको नेता चयन हुने उम्मेदवारले  कम्तीमा १५ मत ल्याउनुपर्नेछ।

सुझावित समाचार