बागमती प्रदेशमा प्रदेश सभा सदस्यहरूको शपथ आज

बिहिबार, १४ पुष, २०७९
डिजिटल संस्करण

एक सय १० सदस्यीय प्रदेश सभा रहेको बागमती प्रदेशमा नवनिर्वाचित प्रदेश सदस्यहरूको शपथग्रहण आज बिहीबार हुँदै छ । प्रदेश सभा सचिवालयले प्रदेशका बाँकी एक सय नौ सदस्यको शपथ आज दिउँसो २ बजेका लागि तय गरिएको जानकारी दिएको छ । त्यसअघि हिजो बुधबार प्रदेश सभाका ज्येष्ठ सदस्य रामकृष्ण ढुंगानालाई शपथ गराइएको थियो । प्रदेश सचिवालयका सचिव कृष्णहरि खड्काले प्रदेश सभाका बाँकी सदस्यहरूलाई आज शपथ गराइने जानकारी दिए । 

सचिवालयले आइतबारनै सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन सूचित गरिसकेको छ ।

यस्तै, बागमती प्रदेश सभाका सदस्यहरूले आफ्नो मातृभाषामा शपथ लिन सक्नेछन् । जसअनुसार प्रदेश सभाले आफूले शपथ खान चाहेको भाषामा शपथको व्यहोरा मातृभाषामा अनुवाद गरी सचिवालयमा बुझाउन यसअघि नै सूचित गरिसकेको थियो ।  

सचिवालयले बागमती प्रगदेश सभाका नवनिर्वाचित १५ जना प्रदेश सभा सदस्यहरूले मातृभाषामा शपथ लिने जानकारी गराएको उल्लेख गरेको छ । १५ जनामध्ये ११ जनाले नेवारी र तीनजनाले तामाङ भाषामा शपथ लिने सचिवालयले जनाएको छ । 

सुझावित समाचार