माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा ससर्त सहभागी हुने निर्णय गरेको राप्रपाले मोटामोटी रूपमा सर्तहरूसमेत तयार पारेको छ।
बैठकमा सरकारमा सहभागी दलहरूबीच तयार हुने न्यूनतम साझा कार्यक्रममा आफ्ना सर्त समावेश हुनुपर्ने उसको सर्त छ।
सर्तलाई अन्तिम रूप दिने जिम्मा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिइए पनि बैठकमा सर्तका रूपमा राख्नुपर्ने केही विषय उठेका थिए।
राप्रपाले सार्वजनिक बिदासहित पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्ने पहिलो सर्तअघि सार्ने भएको छ।
यस्तै, मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयहरूलाई पनि अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न पाउने कानुनी व्यवस्था गर्नुपर्ने सर्त पनि राप्रपाले राख्ने भएको छ।
यसैगरी, नेपालमै मल काराखाना खोल्ने, जुनसुकै अस्पतालमा स्वास्थ्य बिमाको सुविधा हुनुपर्नेलगायत राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाहसँग सम्बन्धित विषयहरूलाई राप्रपाले सर्तका रूपमा राख्ने भएको छ।
आज ६ घण्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारमा सहभागी हुने–नहुनेबारे दुई धार देखिएको थियो। दुई धारमा रहेका नेताहरूबीच चर्काचर्कीसमेत भएको थियो। अन्ततः सरकारमा सहभागी दलहरूबीच बन्ने न्यूनतम साझा कार्यक्रममा आफ्ना माग समेटिए सरकारमा जाने गरी राप्रपाले निर्णय लिएको हो।