बागमती सौन्दर्यीकरण परियोजना : डिजाइनभन्दा बाहिर जाँदा सवा ६ करोड व्ययभार

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

- अनुमानित लागत एक अर्ब २८ करोड २३ लाख
- मूल्य अभिवृद्धि करसहित एक अर्ब २७ करोड ३६ लाखमा नान्तोङ–आशिष–समानान्तर जेबीसँग निर्माण सम्झौता
- थप भेरिएसन गरेर एक अर्ब ३३ करोड ६७ लाख लागत कायम

एकीकृत बागमती सभ्यता समितिअन्तर्गतको बागमती सौन्दर्यीकरण परियोजनामा स्वीकृत डिजाइनभन्दा बाहिर गएर काम गर्दा राज्यलाई सवा ६ करोड व्ययभार थपिएको छ । एसियाली विकास बैंकको अनुदानमा बागमती नदीअन्तर्गतको उत्तरगया, गोकर्ण, गुहेश्वरी र थापाथलीदेखि बल्खुसम्म सौन्दर्यीकरणका लागि मूल्य अभिवृद्धि करसहित एक अर्ब २७ करोड ३६ लाखमा नान्तोङ–आशिष–समानान्तर जेबीसँग निर्माण सम्झौता भए पनि आयोजनाले थप भेरिएसन गरेर एक अर्ब ३३ करोड ६७ लाख लागत कायम गरेको हो  । 

यसरी परिवर्तित डिजाइन स्वीकृति नगराई थप कामको लागत अनुमान तयार गरी राज्यलाई ६ करोड ३१ लाख आर्थिक व्यय थप गरिएको हो । अनुमानित लागत एक अर्ब २८ करोड २३ लाख रहे पनि डिजाइन परिवर्तन गर्दा एक अर्ब ३३ करोड ६७ लाख कायम भएको छ ।

जबकि, सार्वजनिक खरिद ऐनअनुसार स्वीकृत भएको डिजाइन वा लागतमा थप भेरिएसन दिँदा डिजाइन वा लागत संशोधनको स्वीकृति गराउनुपर्छ, त्यो पनि विशेष कारण परेमा मात्रै । ‘लागत अनुमान तोकिएबमोजिमको विशेष कारण परी संशोधन गर्नुपर्ने भएबाहेक एकपटक स्वीकृत भएको डिजाइन वा लागत अनुमानमा संशोधन गर्नुपर्दा त्रुटिपूर्ण डिजाइन गरेको वा अस्वाभाविक लागत अनुमान तयार गरेमा डिजाइन वा लागत अनुमान तयार, जाँच वा स्वीकृत गर्ने पदाधिकारी र सो कार्यमा संलग्न परामर्शदाता प्रचलित कानुनबमोजिम कारबाहीको भागीदार हुने’ व्यवस्था सार्वजनिक खरिद ऐन ०६३ को दफा ५ (क)मा छ । 

आयोजनाले डिजाइन परिवर्तनको स्वीकृति नगराई राज्यलाई आर्थिक भार परेको महालेखा परीक्षकको कार्यालयको आव ०७७÷७८ को प्रतिवेदनमा उल्लेख छ । महालेखाले परामर्शदाता र आयोजनाका पदाधिकारीलाई जिम्मेवार बनाई थप काम भएको भए पुष्ट्याइँ र स्वीकृत डिजाइन पेस गर्न भनेको छ । 

तर, बागमती सुधार आयोजना भने परियोजनाको कुल लागत अनुमान नबढेको भन्दै महालेखाको प्रश्नबाट पन्छिएको छ । परियोजनाका इन्जिनियर मिहिरचन्द्र आचार्य स्वीकृत डिजाइन र ठेक्का सम्झौताभन्दा थप काम गर्नुपर्ने अवस्था आएपछि लागत बढेको दाबी गर्छन् । ‘हामीले ठेक्का स्वीकृत गर्दा एक किसिमको अनुमान गरेका थियौँ । तर, पछि त्यसबाहेक थप काम गर्नुपर्ने भनेर पशुपति क्षेत्र विकास कोष र स्थानीयबाट माग आयो,’ उनले भने, ‘बागमती सभ्यता एकीकृत विकास समिति बोर्डबाट स्वीकृत गरिएको हो ।’ थप लागतको डिजाइन स्वीकृत भएको दाबी गरिए पनि कुनै प्रमाण उपलब्ध गराइएको छैन ।

डिजाइन स्वीकृत नगराई कहाँ–कहाँ थपियो काम ?
यो परियोजनाको पहिलो खण्डमा सम्झौता रकममा ४.९६ प्रतिशत रकम थप गरेर एक अर्ब ३३ करोड ६७ लाख कायम गरिएको हो । दोस्रो खण्ड उत्तरगया क्षेत्रस्थित बागमतीको बायाँ किनारामा घाट, वाल र स्कुल भवनमा इँटा थप गरिएको छ भने वृक्षारोपण हटाइएको छ । गोकर्णमा शौचालय निर्माण थपेर वृक्षारोपण र फुटपाथ हटाइएको छ । दोस्रो खण्डमा ६६ वटा आइटम थप गरिएको छ  ।

त्यसबाहेक आयोजनाले जनताको माग भन्दै  थापाथली र बल्खु क्षेत्रमा शोकघरमा १४ वटा आइटम थप गरेर लागत बढाएको छ । इन्जिनियर आचार्यले भने गुह्येश्वरीस्थित बागमतीको बायाँ किनारामा पहिले काम चलाउ घाट रहेकामा टेन्डर गर्दा ढुंगा बिछ्याउने मात्र समावेश गरिएको, तर पछि पशुपति क्षेत्र विकास कोष र स्थानीयको मागका आधारमा घाट निर्माण थप गरिएको बताए । यसरी बायाँ क्षेत्रमा घाट निर्माण शीर्षक थप्दा दुई करोड व्ययभार थपिए पनि महालेखाले प्रश्न उठाएपछि दायाँ क्षेत्रमा थप काम नगरिएको बताए ।

सम्झौता मिति सकिएको एक वर्ष बित्यो, तर काम सकिएन
२९ साउन ०७६ मा निर्माण सुरु भएको परियोजनाको काम आठ सय २१ दिन (दुई वर्ष तीन महिना)मा सक्ने लक्ष्य लिए पनि अहिलेसम्म काम सकिएको छैन । २९ मंसिर ०७८ मै काम सम्पन्न हुनुपर्नेमा हालसम्म ९५ प्रतिशत काम भएको र ८९ प्रतिशत रकम भुक्तानी भएको उनले बताए ।

सुझावित समाचार