इब्राइमको इमानदारी

आइतबार, १० पुष, २०७९
डिजिटल संस्करण

एकपटक एकजना मानिस बाटामा यताउता घुमिरहेका थिए । उनी त्यसरी बेकारमा घुमिरहेको देखेर एकजना धनी मानिसले उनलाई आफ्नो बगैंचाको रेखदेख गर्ने काम सुम्पिए । त्यसरी काम पाएपछि ती मानिस पनि खुसी भए । उनी तत्काल सो कामका लागि राजी पनि भए । उनले तत्कालै ती धनी मानिसको प्रस्तावअनुसारको काम गर्न मन्जुरी दिए । त्यस दिनदेखि ती मानिसले कैयौँ वर्षसम्म अत्यन्त मिहिनेत र इमानदारीपूर्वक ती धनी मानिसको बगैँचाको काम गरिरहे ।

एकपटक मालिकका केही पाहुना आए । धनी मानिसले ती बगैँचा रक्षकलाई बोलाएर भने, ‘बगैँचाबाट मिठा–मिठा आँप टिपेर ल्याऊ ।’ ‘हस् मालिक’ भन्दै ती कामदार बगैँचातिर लागे । उनले केही आँप टिपे र ती धनी मानिसका आफन्तलाई दिए । ताजा र रसिला आँप देख्दा ती अतिथिले स्वादले आँप मुखमा हाले । तर, ती सबै आँप अमिला थिए । कामदारले अमिला आँप ल्याएको थाहा पाएर ती धनी मानिस रिसाए र भने, ‘यत्तिका वर्ष आँपको बगैँचामा काम गरेर पनि तिमीलाई कुन आँप मिठो छ, कुन आँप अमिलो छ भन्ने थाहा छैन बेबकुफ ?’ 

मालिकको आक्रोश देखेर पनि विचलित नभई ती बगैँचाका रक्षकले नम्र स्वरमा भने, ‘मलाई साँच्चै थाहा छैन हजुर, त्यो बगैँचाको कुनचाहिँ आँप अमिलो छ र कुनचाहिँ आँप मिठो छ ।’ ती सेवकको जवाफ सुनेपछि मालिकले त्यसको कारण जान्न चाहे । उनले प्रश्न गरे, ‘यत्तिका वर्ष बगैँचामा बस्दा पनि तिमीलाई आँपको स्वाद किन थाहा छैन ?’ तब सेवकले नम्रतापूर्वक जवाफ दिए, ‘मैले आजसम्म सो बगैँचाको एउटा पनि आँप चाखेको छैन । अनि कसरी त्यसको स्वाद थाहा होस् त मालिक ?’

धनी मानिसले सोधे, ‘किन ? किन चाखेनौ त तिमीले आँप ? तब ती रक्षकले बडो शालीनतासाथ जवाफ दिँदै भने, ‘हजुरले मलाई आजसम्म बगैँचाको आँप खानू भन्नुभएकै छैन अनि मैले कसरी आँप चाख्नु त मालिक ?’ यो कुरा सुनेपछि धनी मानिसले भने, ‘तिमी सारा दिन बगैँचामा बस्छौ । तिमीले चाहेमा त्यहाँका आँप खान सक्छौ । यसका लागि मैले भनिरहनुपर्ने के कुरा छ ?’

रक्षकले जवाफ दिए, ‘तपाईंले मलाई बगैँचा रेखदेखका लागि राख्नुभएको हो । म अरूलाई चोरी गर्न दिन्नँ भने आफैँले चाहिँ कसरी चोरी गर्नु ? तपाईंको आज्ञाविना टिपेर खानु त चोरी नै हो नि मालिक !’ तिनै इमानदार सेवक पछि गएर महात्मा इब्राइमको नामले संसार प्रसिद्ध भए ।
 

सुझावित समाचार