अफ्रिदीलाई छनोट कमिटीको जिम्मेवारी

आइतबार, १० पुष, २०७९
डिजिटल संस्करण

 पूर्वकप्तान साहिद अफ्रिदीलाई पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले खेलाडी छनोटको जिम्मेवारी सुम्पिएको छ । पिसिबीले अफ्रिदीलाई राष्ट्रिय छनोट कमिटीको अन्तरिम अध्यक्ष नियुक्त गरेको हो । छनोट कमिटीको सदस्यमा अब्दुल रज्जाक, राव इफ्तिकार अन्जुम, हारुन रसिदलाई नियुक्त गरिएको छ । यसअघि, गत मेमा रमिज राजा पिसिबी अध्यक्षबाट बर्खास्त भएपछि नयाँ अध्यक्षमा नजम सेठी आएका थिए । उनले नै नयाँ छनोट कमिटी गठन गरेका हुन् । 

पछिल्लो टेस्टमा इंग्ल्यान्डसँग घरेलु मैदानमै ‘क्लिन स्विप’ भएपछि पाकिस्तान क्रिकेटमा ठूलो हलचल आएको थियो । त्यसपछि पाकिस्तानी क्रिकेटलाई नयाँ दिशामा लैजानका लागि अफ्रिदीलाई छनोट कमिटीको अध्यक्ष बनाइएको हो । अब, पाकिस्तानले घरेलु मैदानमा न्युजिल्यान्डसँग एकदिवसीय र टेस्ट शृंखला खेल्दै छ ।

अध्यक्ष नजमले अफ्रिदीसँग ठूला प्रतियोगिताको लामो अनुभव भएकाले छनोट कमिटीको जिम्मेवारी दिइएको बताएका छन् । ‘अफ्रिदीसँग दुई दशकको अनुभव छ । टोलीलाई सफलता दिलाउन पुनः उनी अगाडि बढेका छन्,’ नजमले भनेका छन् । अफ्रिदीले यो अवसर दिएकोमा पिसिबी अध्यक्ष नजमलाई धन्यवाद दिँदै टोलीमा केही परिवर्तन हुने र राम्रो नतिजा निकाल्न मिहिनेत गर्ने बताएका छन् । 

अफ्रिदीले पाकिस्तानका लागि तीन सय ९८ एकदिवसीय खेलमा आठ हजार ६४ रन बनाएका थिए । त्यसैगरी, ९९ टी–२० खेलमा एक हजार चार सय १६ रन जोडेका छन् । पाकिस्तानलाई सन् २००९ मा टी–२० विश्वकप जिताउने क्रममा अफ्रिदीले सेमिफाइनल र फाइनलमा निर्णायक प्रदर्शन गरेका थिए । 

See More On

सुझावित समाचार