पहिलो संस्करणको नेपाल टी—२० क्रिकेट लिगमा काठमाडौं नाइट्स र लुम्बिनी अल स्टार्सले विजयी सुरुवात गरेका छन्।
शनिबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको हो। काठमाडौंले दिएको १६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित (१९) ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो। पोखराको लागि उपल थरंगाले सर्वाधिक ४४ रनको योगदान दिए। यस्तै, अमिर हमाज र अभिमन्यु मिथुनले समान १८-१८ रन बनाए। काठमाडौंका लागि अविनाश बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो। काठमाडौंका लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित पारी खेले। उनले ४२ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए। यस्तै, सुनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, वीरनदीप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा पवेलियन फर्किए। यता पोखराको लागि प्रतिस जिसी र जाहिर खानले समान २-२ विकेट लिँदा मौसम ढकालले १ विकेट हात पारे।
आज कीर्तिपुर मैदानमै भएको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको छ। लुम्बिनीको जितमा लाहिरू मिलान्थाले सर्वाधिक ६० रनको योगदान गरे। उनले ८ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३५, गुलसान झा २५ र विपुल शर्माले १२ रन बनाए। अन्य खेलाडीले भने दोहोरो रन जोड्न सकेनन्।
फार वेस्टर्नका लागि उमर अलि र करण केसीले समान ३-३ विकेट लिए। त्यस्तै, बलिङतर्फ लुम्बिनीका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। उनले २.२ ओभरमा ६ रन मात्र खर्चिएर ३ विकेट लिन सफल भए। त्यस्तै, सागर ढकाल २, पेट ब्रोन, किशोर महतो, गुलसान झा र विपुल शर्माले समान १-१ विकेट लिए।
यता फार वेस्ट युनाइटेडले भने १६.२ ओभरमा मात्र ८५ रन बनाउन सक्यो। फार वेस्टर्नको तर्फबाट हसमत उल्लाह साहिदीले ३५ रन र विनोद भण्डारीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीहरूले दोहोरो रन जोड्न सकेनन्।
पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता छ। प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउनेछन्। तेस्रो हुनेले १० लाख र चौथोले ५ लाख पाउनेछन्।