नेपालगन्जस्थित भेरी अस्पतालले घुँडाको लिगामेन्ट पुनर्संरचनासम्बन्धी शल्यक्रिया सेवा दिएपछि लिगामेन्ट समस्या भएका पश्चिम नेपालका बिरामीले ठूलो राहत महशुस गरेका छन्।
अस्पतालले सस्तो शुल्कमा घुँडाको लिगामेन्ट पनुर्संरचनासम्बन्धी शल्यक्रिया सेवा दिएपछि यस क्षेत्रका बिरामीले ठूलो राहत महशुस गरेका हुन्। भेरीले शल्यक्रिया सेवा दिएपछि यस क्षेत्रका विरामीलाई उपचारका लागि काठमाडौं र भारतको लखनऊ जाने बाध्यता हटेको छ।
घुँडाको लिगामेन्ट शल्यक्रिया गर्दा काठमाडौंमा दुई–तीन लाख र नेपालगन्जका निजी अस्पतालमा कम्तिमा दुई लाख रुपैयाँ खर्च लाग्छ । तर भेरी अस्पतालमा शल्यक्रियाको १० हजार र औषधि तथा परीक्षणको ५०–६० हजार गरि बढिमा ७०–८० हजार रुपैँया खर्च लाग्ने गरेको अस्पतालका बरिष्ठ अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र खड्काले बताए।
खड्का नेतृत्व टोलीले दुई सयभन्दा बढी घुँडाको लिगामेन्ट पुनर्संरचना सम्बन्धि शल्यक्रिया गरिसकेको छ। ‘विभिन्न किसिमका दुर्घटनामा परेर घुँडाको लिगामेन्ट समस्या भएका बिरामीको दूरविन प्रविधिबाट शल्यक्रिया गरिन्छ,’ डा. खड्काले भने।
उनले पछिल्लो समय घुँडाको जोर्नी प्रत्यारोपण सम्बन्धि शल्यक्रिया सेवा पनि दिन थालेको बताए। काठमाडौंको ट्रमा सेन्टर र वीरेन्द्र सैनिक अस्पतालका वरिष्ठ चिकित्सकहरुसँग सहकार्य गरेर साउन, २०७५ देखि घुँडाको लिगामेन्ट पुनर्संरचनाका साथै घुडाको जोर्नी प्रत्यारोपणसम्बन्धी शल्यक्रिया सुरु गरेको उनले बताए।
‘काठमाडौंबाट आएका वरिष्ठ चिकित्सकहरुको नेतृत्वमा करिव ३० वटा शल्यक्रिया गरेपछि पछिल्लो समय मेरो नेतृत्वमा शल्यक्रिया भइरहेको छ,’ उनले भने।
पछिल्ला समय हप्तामा कम्तिमा दुई जनाको लिगामेन्ट पुनर्संरचना सम्बन्धि शल्यक्रिया हुने गरेको उनले बताए। काठमाडौंका सुविधासम्पन्न अस्पतालहरुले दिने सेवा भेरी अस्पतालले दिँदै आएको उनको भनाइ छ।
भेरी अस्पतालमा घुँडाको लिगामेन्टसम्बन्धि शल्यक्रिया गराएकी ढकारी गाउँपालिका अछामकी १९ वर्षीया सौर्या बुढाले भेरी अस्पतालले जीवनदान दिएको बताइन्।

जंगल गएको बेला लडेर दाँया घुँडाको लिगामेन्ट गएपछि उपचारका लागि नेपालगन्जको निजी अस्पताललाई देखाइन्। उक्त अस्पतालले दुई लाख खर्च लाग्ने बताएपछि झस्किएको सौर्याका आफन्त गोरख साउदले बताए।
अस्पतालले मागेको रकम तिर्न नसक्ने भएपछि भेरी अस्पतालमा ल्याएको उनले बताए। ‘भेरी अस्पतालका चिकित्सकलाई देखाएको भोलिपल्ट अर्थात १ पुसमा छोरी (सौर्या) को घुँडाको लिगामेन्ट पुनर्संरचना सम्बन्धि शल्यक्रिया भयो,’ उनले भने, ‘शल्यक्रिया भएको तीन दिनमै डिस्चार्ज गरियो। एक वर्षदेखि घुडासम्बन्धी समस्याले पिरोलिएकी छोरीको जीवनमा खुशी फर्किएको छ।’
भेरी अस्पतालको उपचार सेवा र चिकित्सकहरुको ब्यवहारबाट उनी सन्तुष्ट छन्। ‘सरकारी अस्पताल भए पनि भेरी अस्पतालको हाडजोर्नी विभागको उपचार सेवा असाध्यै राम्रो लाग्यो,’ उनले भने, ‘राजधानी बाहिरको सरकारी अस्पतालले अत्याधुनिक प्रविधिबाट सहज रुपमा गुणस्तरीय उपचार सेवा दिन्छ भन्ने विश्वास लागेको थिएन।’
..............
लिगामेन्ट समस्या भएका बिरामीले शल्यक्रियाका लागि एक हप्ताभन्दा बढी समय पर्खिनु पर्दैन। अस्पताल भर्ना भएको भोली वा पर्सिपल्टै शल्यक्रियाको पालो पाउने गरेको विरामीले बताउँछन्। शल्यक्रियापछि कम्तिमा ६ हप्तासम्म नियमित रुपमा फिजियोथेरापी गर्नुपर्छ।
भेरी अस्पतालकै फिजियोथेरापिष्ट बिहानी श्रेष्ठले शल्यक्रिया गरेका बिरामीहरुलाई फिजियोथेरापी गर्ने तरिका सिकाएपछि बिरामी डिस्चार्ज हुने गरेका छन्। ‘शल्यक्रियापछि बिरामीले राम्रोसँग फिजियोथेरापी गरे भने बिरामी पूर्ण रुपमा निको हुन्छन्,’ डा. खड्काले भने।
भेरी अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी मोटरसाइकल दुर्घटना, घाँस दाउरा, खेतीपाती, मेलापात गर्ने क्रममा रुख तथा भीरबाट लडेका र फुटबल लगायतका विभिन्न खेल खेल्ने क्रममा लडेर घुँडामा समस्या भएका बिरामीहरु रहेको भेरी अस्पतालले जनाएको छ।
..............
लिगामेन्टसम्बन्धी समस्या भएका बिरामीमा घुँडा दुख्ने र सुन्निने समस्या हुन्छ। उपचारका क्रममा सामान्य एक्स–रे गर्दा घँुडामा कुनै समस्या देखिँदैन। एक्स–रे गर्दा समस्या नदेखिए पनि लामो समयसम्म घुँडाको समस्या भइरहन्छ।
घुँडाको एमआरआई गरेपछि मात्रै लिगामेन्टमा समस्या भएको देखिने डा. खड्काको भनाइ छ। त्यस्ता समस्या बिरामीहरुको भेरी अस्पतालमा सहजै शल्यक्रिया सहितको उपचार भइरहेको भेरी अस्पतालको अर्थोपेडिक विभागले जनाएको छ।
भेरी अस्पतालसँगै सुर्खेतको प्रादेशिक अस्पताल, धनगढीस्थित सेती अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि दुरबिन प्रविधीबाट लिगामेन्ट पुनर्संरचनासम्बन्धी शल्यक्रिया गर्ने उपकरण थपिएका थिए। तर, करोडभन्दा बढी मूल्य पर्ने ती उपकरणहरुको प्रयोग भएको छैन। यी अस्पतालले अहिलेसम्म घुँडाको लिगामेन्ट तथा प्रत्यारोपन सेवा सुरु गर्न सकेका छैनन्।