एक दिन पछि सर्‍यो नेपाल टी–२० लिग

शुक्रबार, ८ पुष, २०७९
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको फ्रेन्चाइज नेपाल टी–२० लिग एक दिन पछि सरेको छ । क्यानले प्राविधिक कारण जनाउँदै लिग शनिबार हुने जनाएको छ । निर्धारित समयअनुसार शुक्रबार (आज) हुनुपर्ने थियो ।

‘शुक्रबारदेखि सञ्चालन हुने तय भएको नेपाल टी–२० क्रिकेट लिग प्राविधिक कारणले एक दिन पछि हुने भएको छ,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतियोगिता अब एक दिन पछि हुनेछ ।’ क्यानले विज्ञप्तिमातर्फ नै प्रतियोगिताको महाप्रबन्धकमा वृत्तान्त खनाललाई नियुक्त गरेको छ । 

प्रतियोगितासम्बन्धमा जानकारी दिन क्यानले शुक्रबारै पत्रकार सम्मेलन आयोजना गर्दै छ । क्यानले प्राविधिक कारण जनाए पनि यसको आन्तरिक विवादले नेपाल टी–२० लिग एक दिनपछि धकेलिएको हो । क्यानले यसअघि पनि नेपाल टी–२० लिग दुईपटक स्थगित गरेको थियो । दुवैपटक क्यान र सेभेन थ्रीको सुस्तताका कारण स्थगित भएको थियो । क्यान र कमर्सियल पार्टनर भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्बीच सम्बन्ध पातलिँदै गएको छ । 

सेभेन थ्री स्पोर्टस्ले सम्झौताअनुसार रकम नदिएको क्यान कार्यसमितिभित्रै प्रश्न उठेको छ । क्यानले नेपाल टी–२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्रीलाई आठ वर्षको सम्झौता गरेको थियो । सेभेन थ्रीले आठ वर्षका लागि ३३ करोड रुपैयाँ क्यानलाई बुझाउनुपर्छ । सम्झौताअनुसार सेभेन थ्रीबाट क्यानले वार्षिक चार करोड प्राप्त गर्नेछ । प्रतियोगिता सुरु हुन एक दिनअघिसम्म पनि क्यानले मितिबाहेक अन्य केही पनि पक्ष सार्वजनिक गरेको छैन । विजेता र उपविजेता टोलीले पाउने धनराशिदेखि व्यक्तिगत अवार्डसम्म क्यानले सार्वजनिक गर्न सकेको छैन । 

क्यानका अध्यक्ष चन्दले कमर्सियल पार्टनरको विषयमा आएको विवाद केवल बजारी हल्ला मात्रै भएको बताए । चन्दले सम्झौताअनुसारको रकम प्राप्त भएकोसमेत बताएका छन् । चन्दले प्रतियोगितामा सहभागी खेलाडीको श्रमस्वीकृति पूरा नहुँदा एक दिन पछाडि सारेको नयाँ पत्रिकालाई बताए । ‘तालिका तलमाथि गरेको मात्रै हो । विदेशी खेलाडीको कागजी प्रक्रिया पूरा भएन । श्रमस्वीकृति ढिला भएर प्रतियोगिता सार्न परेको हो,’ चन्दले भने । 

सुझावित समाचार