सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार ‘डेमो फ्लाइट’ गरिएको छ । ‘डेमो फ्लाइट’अन्तर्गत निजी वायुसेवा कम्पनी यती एयरलाइन्स र बुद्ध एयरको जहाजले विमानस्थलमा पहिलो अवतरण गरेका हुन् । यी जहाजमा पोखरा महानगरपालिकाका प्रमुख, पर्यटन व्यवसायीलगायत सवार थिए ।
अंग्रेजी नयाँ वर्ष १ जनवरी २०२३ देखि विमानस्थल सञ्चालनमा आउनेछ । विमानस्थल सञ्चालनसँगै हालको पोखरा विमानस्थलबाट हुँदै आएका सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुनेछन् भने साना जहाज, हेलिकोप्टर र अल्ट्राफ्लाइटको उडान पुरानै विमानस्थलबाट हुने विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । विमानस्थलमा आन्तरिक उडान र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना बनाइएको छ भने जहाजमा यात्रु चढाउन र झार्नका लागि नेपालकै पहिलो एरोब्रिज बनाइएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थलमा यसअघि ५ देखि १२ मंसिरसम्म थाइल्यान्डबाट आएको एरोथाई कम्पनीको विमानले यान्त्रिक परीक्षणको काम गरेको थियो । परीक्षण उडानपछि विमानस्थल उडानका लागि योग्य रहेको र कुनै समस्या नरहेको प्रारम्भिक प्रतिवेदन थाई कम्पनीले पेस गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले १७ पुसदेखि विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेसँगै सञ्चालनका लागि आवश्यक कामहरू करिब सकिएको गौतमले जानकारी दिए । सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापनसँगै अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा, इन्धन, आवश्यक कागजपत्र तयारीलगायतका कामहरू केही सकिएको र केही अन्तिम तयारीमा रहेको उनले जानकारी दिए ।
विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब २२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको थियो । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण भएको विमानस्थलमा ४५ मिटर चौडाइ र दुई हजार पाँच सय मिटर लामो धावनमार्ग छ ।
विमानस्थल सञ्चालनका लागि मुख्य समस्याका रूपमा रहेको रिट्ठेपानी डाँडा कटानको काम जारी छ । विमानस्थलको पूर्वपट्टि रहेको डाँडा १४ मिटर कटान गरेपछि परीक्षण उडान गरिएको थियो । विमानस्थल सञ्चालनका लागि अर्को समस्याका रूपमा रहेको पोखरा–१८, वाच्छेबुढुवास्थित ल्यान्डफिल्ड साइट हो । वाच्छेबुढुवामा फोहोर फाल्न बन्द गरिएको छ । डाँडा कटानका क्रममा निस्केको माटोले सो ल्यान्डफिल पुर्ने काम भइरहेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ल्यान्डफिल्ड साइट व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी भइरहेको बताए ।
अन्तर्राष्ट्रिय उडानका लागि स्वदेशी र विदेशी कम्पनीसँग वार्ता
स्वदेशी कम्पनी बुद्ध एयरले विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको छ । बुद्धले भारतका तीन सहरमा उडान गर्ने तयारी गरेको छ । बुद्धसँगै हिमालय एयरलाइन्सले समेत अन्तर्राष्ट्रिय उडानका लागि कुरा गरिरहेको गौतमले जानकारी दिए । यसैगरी जजिरा, थाई स्माइल, कतार एयरवेज र फ्लाई दुबईले उडानका लागि क्यानसँग कुरा गरेको र उनीहरूसँग नियमित कुरा भइरहेको उनले बताए ।