चितवनको राप्ती नगरपालिकाका मेयरले आवश्यक प्रक्रिया नै नपुर्याई मोबाइल र ट्याब खरिद गरेको भन्दै विवादमा परेका छन्। मेयर शमशेर लामाले सम्बन्धित व्यक्ति नियुक्त हुनु सात महिनाअघि नै झन्डै दुई लाख रुपैयाँबराबरको मोबाइल र ट्याब खरिद गरेका छन्।
चुनावको समयमा जनतालाई विकासका सपना देखाएका लामा घोषणापत्रअनुसारको कामभन्दा नगरको फजुल खर्चमा नै व्यस्त भएकाे नगरवासीको आरोप छ। उनले प्रक्रिया नपुर्याई मोबाइल दुई थान, ट्याव एक थान र एडप्टर दुई थान गरी नगरपालिकालाई एक लाख ७७ हजार रुपैयाँको आर्थिक भार थपेका छन्।
नगरपालिकाको वडा नम्बर ४ अध्यक्ष केदारप्रसाद आचार्यको मेयरले सामान खरिद नै नगरी बिल पास गरेको आरोप छ। उनले आइतबार नगरपालिकामा निवेदन नै दिएर खरिद विवरण उपलब्ध गराउन माग गरेका थिए। ‘नगरको सामान प्रयोग नभए स्टोर रूममा हुनुपर्ने हो, लेखालाई जानकारी हुनुपर्ने हो,’ आचार्यले भने, ‘कसैलाई जानकारी नै छैन।’
कार्यपालिका बैठकबाट मेयरको कुनै प्रस्ताव नरोकिएको अवस्थामा पनि बैठकबाट निर्णय नै नगरी खरिद गरिएकोमा वडाध्यक्ष आचार्यले प्रश्न गरे। ‘किनेको मोबाइल र ट्याब देखाउनुस् भन्दा मेयरले देखाउन सक्नुभएन। यो विषय बाहिर आएपछि पुनः किनेर भर्पाइ गरिँदै छ भन्ने सुनेको छु। गल्ती कहाँ लुक्छ र !’ उनले नयाँ पत्रिकासँग भने।
मेयर लामाले यसअघि पनि एक लाख २८ हजार मूल्यमा आइफोन– १२ खरिद गरेर लेखामा बिल पेस गरेको दाबी गरिएको छ। यद्यपि, उक्त बिल पास भएन। अहिले पनि आवश्यक नै नपरी मेयरले नगरपालिकाको रकम दुरुपयोग गरेको आरोप छ। कोटेसनहरूमा पनि नियत देखिएको उल्लेख गर्दै वडाध्यक्ष आचार्यले भने, ‘कोटेसनहरूरुमा पनि नियत देखिन्छ। कोटेसनको मूल्य र बिलमा फरक छ। दर्ता मिति पनि केरमेट छ।’
तर, आफूले सचिवालय सदस्यका लागि ती सामान किनेको मेयर लामाको दाबी छ। सचिवालय टिम आवश्यक पर्ने भएकाले स्वकीय सचिव र प्रेस संयोजकका लागि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलले मोबाइल र ट्याब खरिद गरेर दिएको लामा बताउँछन्। कार्यपालिकामा आफ्नो स्पष्ट बहुमत नहुँदा बैठकमा उक्त प्रस्ताव लैजान नपाएको उनको दाबी छ। उनले भने, ‘कार्यपालिकामा स्पष्ट बहुमत नपुग्दा प्रेस संयोजक र सचिवालय स्थापना गर्न सकिनँ। त्यसैले सो सामान आफ्नै कार्यकक्षमा राखेको छु।’
मेयर लामाले स्वकीय सचिव र प्रेस संयोजकका लागि ती सामान किनेको बताए पनि अहिलेसम्म नियुक्त भने भएका छैनन्। नियुक्ति नै नभएकाहरूको नाममा सात महिनाअघि नै प्रक्रियाविपरीत सामान खरिद गरेपछि उनीमाथि प्रश्न उठेको छ।