मोरक्कोको सफलतामा परिवारको साथ

सोमबार, ४ पुष, २०७९
डिजिटल संस्करण

मोरक्कोले कतार विश्वकपमा ऐतिहासिक रूपमा चौथो स्थान प्राप्त गर्दा प्रत्येक खेलमा परिवारका सदस्यहरूले साथ दिएका थिए । खेलाडीहरूले एक महिनासम्म ‘होमसिक’को महसुस गरेनन् । 

एक महिनाअघि मोरक्को कतार पुग्दा विश्वकपको समूह चरणमाथि जान नसकिने अनुमान थियो । एक महिनापछि मोरक्कोले आफ्नो पहिचान नै बेग्लै बनाएको छ । कतार विश्वकपमा मोरक्कोले समग्र फुटबल समर्थक र विश्लेषकहरूका अनुमान गलत साबित गर्यो । मोरक्कोले ऐतिहासिक रूपमा विश्वकपमा चौथो स्थान हात पारेको छ । क्रोएसियासँग शनिबार २–१ ले पराजित हुँदै मोरक्को कतार विश्वकपमा चौथो स्थानमै सीमित बन्नुपर्यो । मोरक्कोले समूह चरणदेखि क्वार्टरफाइनलसम्म सनसनीपूर्ण नतिजा नै निकाल्यो । समूह चरणमा बेल्जियमजस्तो युरोपकै शक्तिशाली राष्ट्रलाई २–० ले, प्रिक्वार्टफाइनलमा स्पेनलाई टाइब्रेकरमा र क्वार्टरफाइनलमा पोर्चुगलमाथि १–० को सनसनी जित निकाल्यो । 

मोरक्कोको सफलतामा टिम एकता, समर्थकको माया र परिवारको भरपूर साथ दिएको थियो । यही तीनवटा सूत्रमा बाँधिएको मोरक्कोले मध्यपूर्वी एसियामा पहिलोपटक आयोजित विश्वकपमा कसैले नसोचेको नतिजा निकाल्न सफल भयो । मोरक्कोको सफलतामा सबैभन्दा बढी धेरै योगदान परिवारबाट पाएको भन्दा फरक नपर्ला । कतारको यात्रामा ‘होम सिक’ नहोस् भनी मोरक्कोका खेलाडीहरूको सपरिवार नै कतारको दोहा पुगेका थिए । मोरक्को फुटबल संघले यसको प्रबन्ध मिलाएको थियो । जसले खेलाडीले कुनै पनि क्षण घरविहीनको महसुस गरेनन् । एक किसिमले उनीहरू घरमै फुटबल प्रतियोगिता खेलिरहेको जस्तो देखिन्थे । ‘होम सिक’ हुँदा स्वाभाविक लयमा खेलाडी खेल्न सक्दैनन् । राम्रो टोली पनि खराब लयमा गुज्रन पुग्छ । तर, अरबी राष्ट्रमा मोरक्कोले यस्तो कुनै पनि तनावको सामना गरेन । खेलाडीको जित, हार वा बराबरी नजितामा टोलीका खेलाडीले परिवारसँग मनाए । समूह चरणदेखि तेस्रो स्थानको लागि भएका खेलमा मोरक्कोले परिवारसँग साटेको भावनात्मक खुसीले अन्तर्राष्ट्रिय मिडियामा छाएको थियो । 

अझ यसमा मोरक्कोका खेलाडीले जितको खुसी आमाहरूसँग साटेको दृश्यले सामाजिक सञ्जाल र मिडियमा उत्तिकै स्थान पायो । मोरक्कोका खेलाडीले आफ्नो ऐतिहासिक सफलताको राज क्वार्टरफाइनलमा देखाए । जब क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले हरायो, खेलाडीहरू आफ्नो असीमित खुसीको क्षण आफ्नी आमा र परिवारका सदस्यसँग साटे । बोउफलको आफ्नी आमासँगको नृत्य खुबै चर्चित भयो । वास्तवमा मैदानमा बोउफल मात्र रमाएका थिएनन्, उनकी आमासमेत छोरासँगै खुसीले नाचिन् । खेलाडी मात्र होइन, प्रशिक्षक वालिदले पनि कतारमा आमालाई साथमा ल्याएका थिए ।

See More On

सुझावित समाचार