बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड

आइतबार, ३ पुष, २०७९
डिजिटल संस्करण

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँड गरिएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आइतबार सेयर बाँडफाँड गरिएको हो।

कम्पनीले प्रतिसेयर रु. १०० अंकित दरका कुल पाँच लाख ५४ हजार कित्ता आइपिओ बिक्री खुला गरेको थियो। बिक्री प्रबन्धकका अनुसार साधारण सेयरमा कुल १२ लाख ५८ हजार चार सय २१ आवेदकले एक करोड ४३ लाख ५१ हजार आठ सय ३० कित्ता सेयरका लागि आवेदन दिएका थिए। कम्पनीले योग्य ११ लाख ९१ हजार दुई सय ८४ मध्ये ५१ हजार पाँच सय २२ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । 

निष्कासित सेयरमा २७ हजार सात सय कित्ता सामूहिक लगानी कोषलाई र ११ हजार ८० कित्ता कर्मचारीलाई बाँडफाँड गरिएको छ। लगानीकर्ताले गत मंसिर २१ गतेदेखि २६ गतेसम्म सेयर खरिदका लागि आवेदन दिएका थिए।

बाँडफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइट (मेरो सेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ।

सुझावित समाचार