आगामी १८ पुसभित्र सबै प्रदेश सभाका अधिवेशन आह्वान गरिसक्नुपर्ने हुन्छ । प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिनभित्र अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । २८ मंसिरमा आयोगले अन्तिम परिणाम घोषणा गरेकाले प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले १८ पुसभित्र अधिवेशन आह्वान गरिसक्नुपर्नेछ ।
संविधानको धारा १८३ (१) मा प्रदेश प्रमुखले प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । आयोगले प्रतिवेदन प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएसँगै सातवटै प्रदेश सभा सचिवालयले सांसदहरूलाई शपथग्रहण गराउने तयारी थालेका छन् ।
निर्वाचन आयोगले आइतबार प्रतिनिधिसभाका साथै प्रदेश सभाका समानुपातिक सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिएपछि शपथ हुनेछ । ४ मंसिरमा सम्पन्न मतदानबाट प्रतिनिधिसभामा दुई सय ७५ र प्रदेश सभामा पाँच सय ५० सदस्य निर्वाचित भएका छन् ।
३० दिनभित्र सरकार गठन
निर्वाचन आयोगले प्रदेश प्रमुखहरूलाई चुनावको अन्तिम परिणामसहितको प्रतिवेदन बुझाएसँगै सरकार गठनको बाटो खुलेको छ । अब प्रदेश प्रमुखले सरकार गठनको आह्वान गर्न सक्छन् । संविधानको धारा १६८ (३) मा अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र सरकार गठन भइसक्नुपर्ने व्यवस्था व्यवस्था छ ।
सातवटै प्रदेश सभामा कुनै पनि दलको बहुमत नभएकाले प्रदेश प्रमुखले १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्नेछ । आयोगले २९ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधिसभाको निर्वाचन प्रतिवेदन बुझाएको थियो । भण्डारीले यसै साता सरकार गठनको आह्वान गर्ने तयारी थालेकी छिन् ।
आयोगले सातवटै प्रदेश प्रमुखलाई बुझायो निर्वाचन प्रतिवेदन
निर्वाचन आयोगले सातवटै प्रदेश प्रमुखलाई प्रदेश सभा निर्वाचनको प्रतिवेदन बुझाएको छ । शनिबार आयुक्तसहित आयोगका पदाधिकारीहरू सम्बन्धित प्रदेश राजधानी पुगेर प्रतिवेदन बुझाएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
प्रदेश १ मा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, मधेसमा आयुक्त सगुनशमशेर जबरा, बागमतीमा आयोगका सचिव गोकर्णमणी दुवाडी, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी, गण्डकीमा आयुक्त ईश्वरी भट्टराई, कर्णालीमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिममा आयुक्त जानकी मानन्धरले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएका हुन् । आयोगले २८ मंसिरमा प्रतिनिधिसभाका साथै प्रदेश सभाको पनि अन्तिम परिणाम घोषणा गरेको थियो ।