कांग्रेसका महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकांक्षा राख्ने गरे पनि आफूमा मन्त्री बन्ने कुनै आकांक्षा नरहेको स्पष्ट पारेका हुन्।
उनले पार्टीमा रहेर गर्नुपर्ने कामहरू धेरै रहेकाले मन्त्री बन्न अरूलाई सहयोग गर्ने बताए। महामन्त्री शर्माले सरकारमा मन्त्री बन्नेभन्दा पनि दूरदराजमा रहेका आमनागरिकको भावनाअनुसार काम गर्ने कुरा आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए।
उनले कुनै बेला एक्लै दुईतिहाइ ल्याएको कांग्रेस अहिले मिलेर चुनाव लड्दासमेत ५७ सिटमा सीमित भएको भन्दै चुनाव जित्नेबित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला नभएको बताए। उनले आफूले अहिले जिम्मेवार भएर मन्त्रीहरूको आकांक्षा राख्ने नेताहरू उपयुक्त छनोट गर्ने कुरामा ध्यान दिने बताए।
महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषयभन्दा महत्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताए। अहिले बन्ने प्रधानमन्त्री दुई वर्षलाई मात्रै भएको भन्दै उनले गठबन्धनलाई सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनु नहुने बताए।
राष्ट्रपति भवनमा व्यक्ति नभई प्रवृत्ति लिएर जाने भएकाले पनि तेस्रो राष्ट्रपति बन्दै गर्दा समुदायको हिसाबले पनि फरक प्रस्तुति हुन सक्नुपर्नेमा उनको जोड थियो।
शर्माले राष्ट्रपति पदको चयन गर्दैगर्दा प्रधानमन्त्रीको कुरालाई प्रथम र अन्तिम नमानीकन राष्ट्रपतिको विषयलाई गम्भीरतापूर्वक लिएर संविधानको रक्षा र पालना गर्न आवश्यक रहेको बताए।