महिन्द्र रायले आफ्नै नागरिकताको उमेर अस्वीकार गरेपछि पशुपतिशमशेर जेठो सांसद !

शुक्रबार, १ पुष, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभामा सभामुख र उपसभामुख नियुक्त नहुँदाको अवस्थामा उमेरको हिसाबले ज्येष्ठ सदस्यले सभा सञ्चालन (सभामुखको भूमिका) गर्ने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ खुवाएर अन्य सदस्यलाई ज्येष्ठ सदस्यले शपथ दिलाउने प्रचलन पनि छ । तर, उमेरको आधिकारिकता जाँच्ने नागरिकताअनुसार सबैभन्दा ज्येष्ठ सदस्य महिन्द्र राय यादवले आफ्नै उमेरप्रति असन्तुष्टि जनाउँदै उक्त भूमिकाका लागि अस्वीकार गरेका छन् । 

सर्लाही २ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका अध्यक्ष यादव नागरिकताअनुसार ८५ वर्षका भए । निर्वाचन आयोगको अद्यावधिक विवरणमा पनि उनको उमेर ८५ वर्ष नै छ । तर, उनले आफू ६८ वर्षको मात्रै भएको दाबी गरेका छन् । नागरिकतामा आफ्नो उमेर बढी भएको र नैतिकताका आधारमा ज्येष्ठ सदस्यका रूपमा प्रतिनिधिसभा सञ्चालन नगर्ने बताएका छन् । 

‘नागरिकताअनुसार मेरो उमेर मिल्दैन । म ०११ सालमा जन्मिएको हुँ । ६८ वर्षको मात्रै भएँ । त्यसैले मैले नैतिकताका आधारमा ज्येष्ठ सदस्यको रूपमा सभामुखको भूमिकामा दाबी गर्न मिल्दैन । मैले पहिला पनि दाबी गरिनँ, अब पनि गर्दिनँ,’ उनले भने, ‘नागरिकता सच्याउन मैले निवेदन दिएको थिएँ । तर, हालसम्म सच्चिएको छैन । सांसद, मन्त्री भएको व्यक्तिको त नागरिकता सच्चिएको छैन भने अरूको के होला ?’ 

०७४ मा पनि तत्कालीन राजपाबाट निर्वाचित यादवलाई ज्येष्ठ सदस्यको रूपमा राष्ट्रपतिबाट शपथ गराउने तयारी गरिएको थियो । तर, नागरिकताअनुसार आफ्नो उमेर नमिल्ने भन्दै उनले अस्वीकार गरेका थिए । 

यादवले अस्वीकार गरेपछि सभा सञ्चालनको जिम्मा राप्रपाका समानुपातिक सांसद ८१ वर्षीय पशुपतिशमशेर जबराले पाउने भएका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार जबरा २५ वैशाख १९९८ मा जन्मिएका हुन् । उनी अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरका नाति हुन् । 

नागरिकतामा केसीको उमेर एक वर्ष कम !
महिनाको अन्तरले पशुपतिशमशेर जबरा जेठा भए पनि बाग्लुङ १ बाट प्रत्यक्ष निर्वाचित जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि नागरिकताअनुसार ८१ वर्षकै भए । तर, केसीका अनुसार वास्तवमा उनी ८२ वर्षका भइसके ।

नागरिकतामा एक वर्ष उमेर घटाएको उनको दाबी छ । ‘म २० माघ १९९७ मा जन्मिएको हुँ । तर, त्यसवेला स्कुलमा सरहरूले उमेर घटाउँदा पछि राम्रो हुन्छ, सरकारी जागिर खाँदा फाइदा गर्छ भनेर एक वर्ष कम गरेर १९९८ साल बनाइदिनुभयो,’ केसीले भने । 

०७४ मा महन्थ ठाकुर थिए ज्येष्ठ सदस्य
महोत्तरी ३ बाट निर्वाचित लोसपा अध्यक्ष महन्थ ठाकुर ८० वर्ष भए । ०७४ मा प्रतिनिधिसभामा निर्वाचित हुने उनी सबैभन्दा बढी उमेरका थिए ।

त्यसैले उनैले अन्य सदस्यहरूलाई शपथ खुवाएका थिए । यसपटक भने उनीभन्दा जेठा नेता सांसद बनेपछि उनले सो भूमिका नपाउने निश्चित छ । 

सुझावित समाचार