संकटमा गन्धर्व कलाकार : सारंगीसँगै गर्जोको चिन्ता

बुधबार, २८ मंसिर, २०७९
डिजिटल संस्करण

गुल्मीको मुसिकोट नगरपालिका- ३ का बिनबहादुर गन्धर्व ६२ वर्षका भए । उनले १५ वर्षदेखि सारंगी बजाउन थालेका हुन् । उनले बाल्यकाल, युवा अवस्था हुँदै वृद्धावस्थाको जोहो सारंगीबाट गरिरहेका छन् । पिठ्युँमा अन्नको भारी र कोखमा सारंगी बोकेर महिनौँ गाउँ घुमेको अनुभव बिनबहादुरसँग छ । सारंगी बजाउन गुल्मीसहित दाङ, सल्यान र रोल्पाका गाउँ–गाउँमा पुगेको गन्धर्व बताउँछन् । पहिले पैसाको चलन थिएन् । गाउँ–गाउँमा दिएको अन्नले गन्धर्व समुदायले परिवार चलाउँथे । 

त्यसवेला पैसा नभए पनि महत्व र आत्मसम्मान बेग्ले भएको बिनबहादुरले बताए । गाउँमा सूचना र सञ्चारको पहुँच थिएन । गन्धर्वले सुनाउने घटनासँग नागरिकको चाख हुन्थ्यो । टोलमा गन्धर्व पुग्दा घटना सुन्न आउनेको तँछाडमछाड चल्थ्यो ।  कारुणिक गीतको सारंगी धुनमा गन्धर्वले प्रस्तुत गर्ने घटनाले सबैका आँखा रसाउँथे । ‘सारंगीमा घटना सुनाउँदै जाँदा कैयौँ मान्छे रुन्थे । रुनेहरूले नै प्रभावित भएर अन्न र पैसा थप्थे,’ उनले भने, ‘ठूला घटना सुनाउँदा जिल्लामा स्वीकृति लिनुपर्थ्यो।’ 

बिनबहादुरले देशको व्यावस्था र परिवारमा गरिबीले निम्त्याएको संकट प्रत्यक्ष भोगे । व्यक्ति, समुदाय र देशको अवस्थाका गीत गाउँदै देशका विभिन्न भाग घुमे । उनका आठ भाइ छोरा छन् । तर, कसैले पनि सारंगी बजाउन जान्दैनन् । ‘कुनै वेला ज्यान पाल्ने गतिलो पेसा अहिले ओझेलमा पर्यो, उनले भने, ‘मेरा आफ्ना कुनै छोराले सारंगी बजाउँदैनन् । श्रमलाई लाजको विषय बनाएकाले पेसा पुस्तान्तरण भएन ।’ 

मुसिकोट– ३ को पेँगामा नाै घर गन्धर्व समुदाय छन् । बिनबहादुरसहित टीका र तुल्सीराम गन्धर्वले मात्रै सारंगी बजाउँछन् । जिल्लाका गन्धर्व परिवारलाई सरकारले बनाइदिएका ओत छन् । तर, सीप हस्तान्तरण र जीविकोपार्जनमा सोच कसैको छैन । उनले सारंगी बाजा संरक्षण र गन्धर्वलाई उत्प्रेरित गर्न मुसिकोट नगरपालिकाले दिने बजेटले निरन्तरता नपाएको गुनासो गरे । 

पुराना लोकगायक वीरबहादुर गन्धर्भका छोरा हुन् दुर्गाबहादुर गन्धर्व । इन्द्रबहादुरका तीन भाइ छोरा इन्द्रबहादुर, दुर्गाबहादुर र बाबुराम गन्धर्व सारंगी बजाउँदै गाउँगाउँ हिँड्छन् । तीन भाइमध्येका दुर्गाबहादुर सारंगी बजाउन र गायनमा अब्बल छन् । ०४५ सालमा रेडियो नेपालमा गीत रेकर्ड गराएका दुर्गाबहादुरको सारंगीको धुन सुनेर कुनै वेला दर्शक रुन्थे । 

तर, आर्थिक अवस्था कमजाेर भएका कारण रेडियो नेपालबाट फर्किएका गन्धर्व गाउँकै गल्लीहरूमै सीमित भएका छन् । ‘गुल्मीकै छोरा बमबहादुर कार्कीले काठमाडाैं पुर्याएर गीत रेकर्ड गरेको हुँ, परिस्थिति अनुकूल नभएपछि भाग्यले साथ दिएन,’ उनले भने, ‘बुढेसकालले गला बसेपछि पछुताएर के गर्ने ?’ 

राजाका कुरा, पल्टनमा गएका छोराको खबर, भगवानका चरित्र सुनाएर दुर्गाबहादुर पनि विभिन्न ठाउँमा पुग्थे । अहिले एफएम रेडियो र फोन हातहातै भएपछि आफूहरूको पेसा संकटमा परेको दुर्गाबहादुरले गुनासो गरे। 

रुरु क्षेत्र गाउँपालिका ५ बम्घाको कुमौरी गैरा गन्धर्व गाउँ हो । जिल्लामा सबैभन्दा धेरै गन्धर्व समुदाय बसोवास गर्ने गाउँमै अहिले कम सारंगी बज्छ । बम्घाका चुराबहादुर गन्धर्वले बुबासँगै हिँडेर सात वर्षबाट सारंगी बजाउँथे । 

सोही गाउँका प्रेमबहादुर गन्धर्वले पनि सारंगी बजाएरै ११ जना छोराछोरी हुर्काए । त्यसवेला अहिलेजस्तै सडक थिएनन् । आर्थिक अवस्थाले गर्जो टर्दैनथ्यो । जीविकोपर्जनकै लागि सारंगी रेट्नुपर्ने बाध्यता गन्धर्व समुदायको थियो । घरमूलीले गाउँ डुलेर अन्न जुटाउँथे । परिवार त्यही आशमा बाटो कुर्थे । ‘गाउँमा सारंगी बजाउनेलाई माग्ने नै ठान्थे, कहिल्यै पाक्ने कुराको ठेगान थिएन,’ चुराबहादुर गन्धर्वका छोरा शरण परियारले विगत सम्झिँदै भने, ‘त्यो जमनामा पनि बाले परिवार हुर्काए ।’ अहिले प्रविधिले पेसा खोसेको उनकाे गुनासाे छ ।
 

See More On

सुझावित समाचार