११ अर्ब कम लागतमा बन्ने भयो सुनकोसी–मरिन आयोजना

बुधबार, २८ मंसिर, २०७९
डिजिटल संस्करण

१८ अर्ब लगानी अनुमान गरिएको हेडवर्क्स, पावरहाउस, हाइड्रो मेकानिकललगायतका संरचना निर्माण ६ अर्ब कममा ठेक्का लाग्ने पक्का, १३.३ किलोमिटर सुरुङ बनाउन १५ अर्ब लगानी अनुमान गरिए पनि पाँच अर्ब कममा बिडिङ

राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अनुमानित लागतभन्दा ११ अर्ब रुपैयाँ कम खर्चमा निर्माण हुने देखिएको छ । उक्त आयोजना बनाउन कुल ४६ अर्ब खर्च लाग्ने अनुमान गरिएको थियो । तर, अनुमानभन्दा २४ प्रतिशत कम लागतमा आयोजना बन्ने निश्चित भएको हो । 

आयोजनामा बन्ने जलविद्युत्को हेडवर्क्स, पावरहाउस, हाइड्रो मेकानिकललगायतका संरचना निर्माणमा पनि अनुमानभन्दा ६ अर्ब रुपैयाँ कममा ठेक्का सम्झौता हुने पक्का भएको छ । विभागले उक्त संरचना बनाउन १८ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरेको थियो । तर, हालै सम्पन्न फाइनान्सियल बिडिङमा भारतको पटेल इन्डिया र नेपालको रमन कन्स्ट्रक्सनले जोइन्ट भेन्चर (जेभी)मा १२ अर्ब रुपैयाँमा उक्त ठेक्का लिने पक्का भएको छ । हाल उक्त कम्पनीसँग गरिने ठेक्का सम्झौताको प्रक्रिया अन्तिम चरणमा रहेको आयोजनाका निर्देशक मित्र बरालले बताए । साथै, दुई ठेक्काबाट आयोजना अनुमानित लागत ११ अर्ब रुपैयाँ कम भएको उनको भनाइ छ । 

त्यस्तै, आयोजनाअन्तर्गत बन्ने १३.३ किलोमिटर सुरुङ बनाउन १५ अर्ब लगानी अनुमान गरिएको थियो । तर, बिडिङका क्रममा पाँच अर्ब रुपैयाँ कम अर्थात् १० अर्ब पाँच करोड ६८ लाख रुपैयाँमा चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपसँग ठेक्का सम्झौता भएको थियो । उक्त सुरुङ निर्माण गर्न सिँचाइ विभाग र कम्पनीबीच चैत ०७७ मा सम्झौता भएको थियो ।

लक्ष्यभन्दा पहिले नै सुरुङ निर्माण हुने सम्भावना छ : मित्र बराल निर्देशक, सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना
निर्माण सुरु भएको २२ महिनाभित्र सुरुङको निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । अहिलेको जस्तो सहज रूपमा काम भए त्यसभन्दा अघि नै सुरुङ निर्माणको काम सम्पन्न हुन्छ । यदि, भौगोलिक जटिलतालगायतका समस्या आएमा भन्न सकिन्न । सुरुङमा सुरुको चार किलोमिटर खण्ड चुरे पहाडको भाग पर्छ । त्यति सुरुङ खन्ने वेलासम्म खास समस्या आउँदैन । तर, चार किलोमिटरभन्दा भित्री भाग भने साह्रो हुने र सो खण्डमा सुरुङ खन्न भने केही चुनौती हुन सक्छ । 

योबाहेक आयोजनाको प्रसारण लाइन, इलेक्ट्रो मेकानिकललगायतको निर्माण ठेक्का आह्वान गर्न बाँकी छ । त्यसका लागि आवश्यक तयारी भइरहेको निर्देशक बरालले जानकारी दिए । यस आयोजनामा सिन्धुलीदेखि सर्लाहीसम्म ४४ किलोमिटर लामो ३२ केभिए क्षमताको प्रसारण लाइन बन्नेछ । प्रसारण लाइन र इलेक्ट्रो मेकानिकलतर्फ झन्डै चार अर्ब रुपैयाँ लगानी अनुमान गरिएको छ ।

१३ सय मिटर खनियो सुरुङ
निर्माण सुरु भएको करिब दुई महिनामा आयोजनाअन्तर्गतको १३ सय मिटर सुरुङ खनिएको छ । अमेरिकी प्रविधिको टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिमार्फत २८ असोजबाट उक्त सुरुङ खन्न सुरु गरिएको थियो । २५ मंसिरसम्म सोबराबरको सुरुङ निर्माण भएको हो । उक्त सुरुङको कुल लम्बाइ १३.३ किलोमिटर हुनेछ । हालसम्म ९.७७ प्रतिशत सुरुङ निर्माण भएको देखिन्छ । यही गतिमा काम भए निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न हुने आयोजनाका निर्देशक बरालले बताए । हाल आठ–आठ घन्टाको तीन सिफ्ट गरेर दैनिक २४ घन्टा नै काम भइरहेको छ । अहिले दैनिक औसतमा २५ मिटर सुरुङ खनिएको छ, जुन प्रगति लक्ष्यअनुसार नै रहेको उनले बताए । 

‘निर्माण सुरु भएको २२ महिनाभित्र सुरुङको निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । अहिलेको जस्तो सहज रूपमा काम भए त्यसभन्दा अघि नै सुरुङ निर्माणको काम सम्पन्न हुन्छ,’ उनले भने, ‘यदि, भौगोलिक जटिलतालगायतका समस्या आएमा भन्न सकिन्न ।’ सुरुङमा सुरुको चार किलोमिटर खण्ड चुरे पहाडको भाग पर्छ । त्यति सुरुङ खन्ने वेलासम्म खास समस्या आउँदैन । तर, चार किलोमिटरभन्दा भित्री भाग भने साह्रो हुने र सो खण्डमा सुरुङ खन्न भने केही चुनौती हुन सक्ने बरालले बताए ।

यस्तो छ आयोजना 
तराईको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र ३१ मेगावाट विद्युत्समेत उत्पादन गर्ने लक्ष्यसहित सरकारले यो आयोजना अघि बढाएको हो । २० फागुन ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यस आयोजनाको शिलान्यास गरेका थिए । विशेष गरी सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीको पानीलाई सुरुङमार्फत सिन्धुली जिल्लाको मरिन नदीमा खसालिनेछ । साथैै, त्यसलाई हालको बागमती सिँचाइ आयोजनाका संरचनाहरूमार्फत मध्य–तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याइनेछ । साथै, पानी डाइभर्सन गर्ने क्रममै यसै आयोजनामा भित्र ३१.०७ मेगावाट क्षमताको जलविद्युत् आयोजना पनि बन्नेछ । समम्रमा ०८५ भित्र आयोजना पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको उनले बताए । 

आयोजनाको सुरुङको निर्माण सुरु भए पनि यसअन्तर्गत बन्ने अन्य संरचनाको भने निर्माण सुरु भएको छैन । यद्यपि, चालू आर्थिक वर्ष ०७९/८० मै  अन्य संरचनाको निर्माण सुरु गर्ने बताइएको छ ।

यस्तो हुनेछ जलविद्युत् आयोजना
आयोजनाबाट तराईमा सिँचाइ मात्र नभएर ३१ मेगावाटको विद्युत् उत्पादन गर्ने योजना छ । यसका लागि सिन्धुलीको खुर्काेट बजारदेखि करिब दुई किलोमिटर माथितिर र सुनकोसी र तामाकोसीको दोभानदेखि करिब एक सय ५० मिटर तलतिर सुनकोसी नदीमा ब्यारेज निर्माण गरिनेछ । तामाकोसी र सुनकोसीको दोभान बेनीभन्दा केही तल सुनकोसी नदीमा एक सय ५८ मिटर लामो ब्यारेज निर्माण गरिनेछ । साथै, विद्युत् उत्पादनका लागि आवश्यक इन्टेक, डिसेन्डर तथा १३ दशमलव ३ किलोमिटर टनेल निर्माण गरिनेछ । टनेलको मोटाइ र लम्बाइ ५ दशमलव पाँच मिटरको व्यास रहनेछ । आयोजनाबाट उत्पादन भएको विद्युत् ४४ किलोमिटर प्रसारण लाइन निर्माण गरेर सर्लाहीको नवलपुरमा निर्माणाधीन सबस्टेसनमा जोडिनेछ ।

सुझावित समाचार