काभ्रेको बेथानचोक–४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनाका बिरामीले शिर मेमोरियल अस्पताल भरिएको छ ।
चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई भ्याइनभ्याई छ । एकपछि अर्को गर्दै घाइते थपिएपछि स्वास्थ्यकर्मी हस्याङफस्याङमा देखिन्छन् ।
बेड अभावमा केहीलाई भुइँमै राखेर उपचार गरिएको छ । अस्पताल परिसरका दृश्य निकै कारुणिक देखिन्छ ।
यस्तै, अवस्था धुलिखेल अस्पतालमा पनि छ । धुलिखेल अस्पतालमा मृत्यु भएकाहरूका शव धमाधम ल्याइँदै छ । आज साँझ सवा ६ बजेतिर भएको दुर्घटनालगत्तै स्थानीयले पहिले घाइतेको उद्धार गरेका थिए ।
केही समयपछि पुगेका सुरक्षाकर्मीको पहिलो प्राथमिकता पनि घाइतेलाई जतिसक्दो चाँडो उपचारका लागि अस्पताल पुर्याउनु थियो ।
घाइतेहरूलाई अस्पताल पठाइएपछि भने शव संकलन गरी अस्पताल पठाइएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।
दुर्घटनामा कति यात्रुको मृत्यु भएको हो भन्ने अझै यकिन हुन सकेको छैन । बसमा कति यात्रु थिए भन्ने पनि खुलिसकेको छैन ।
अहिलेसम्म मृत्यु हुनेको संख्या १८ पुगेको बताइएको छ । घाइते दुई दर्जनभन्दा बढी छन् ।



