बेथानचोक दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

मंगलबार, २७ मंसिर, २०७९
डिजिटल संस्करण
बेथानचोक दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

शिर मेमाेरियलमा घाइतेकाे उपचार गरिँदै । तस्बिर : इन्द्रबहादुर थापा/नयाँ पत्रिका

काभ्रेको बेथानचोक–४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । 

२० भन्दा बढी घाइते छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । मृत्यु भएकामध्ये नौवटा शव धुलिखेल अस्पतालमा र दुईजनाको शव शिर मेमोरियल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । 

शिर मेमोरियलमा १२ जनाको उपचार भइरहेको छ । तीमध्ये तीनजनाको अवस्था गम्भीर छ । मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको छ । 

दुईवटा डोजरको सहायतामा मृत्यु भएकाहरूको शव बसभित्रबाट निकालेर अस्पताल पठाइएको स्थानीयले जनाएका छन् । 

बेथानचोक– ५ बाट बनेपा पनौतीतर्फ आउँदै गरेको बा. ३ख ४३८५ नम्बरको बस आज साँझ सवा ६ बजे भित्तामा ठोक्किएपछि सडकबाट खसेर दुर्घटना भएको हो । 

बसमा भान्जाको व्रतबन्धमा गएर फर्किएका बनेपा ११ सल्लेका यात्रु चढेको बताइएको छ । रिजर्भ गरिएको बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । 

सुझावित समाचार