नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा संसदमा दलहरू विभाजित हुन नहुने बताएका छन्।
मंगलबार प्रेस लैंगिक नीतिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा रहेका दलहरू नीति निर्माणका वेलामा एक ठाउँमा उभिनुपर्ने बताएका हुन्। उनले आमनागरिकका समस्या समाधानका लागि नीति निर्माणको आवश्यकता रहेको उल्लेख गर्दैै नीति, नियम बनाउने कुरामा सबै राजनीतिक दलले गहन अध्ययन र अनुसन्धान गरी एकत्रित हुनुपर्नेमा जोड दिए।
‘संसदभित्र हामी कतिपय सन्दर्भमा राजनीतिक दलका हिसाबले विभाजित हुन्छौँ, तर ऐन, नियम बनाउने क्रममा विभाजित हुँदैनौँ। संसदमा विधेयक आइसकेपछि बल्ल क्रस पार्टी काम गर्दा हामी जहिले पनि के गरेका हुन्छौँ भने सरकारले ल्याएको विधेयकमा, प्रेस काउन्सिलले त्यसपछि बल्ल सांसद खोज्न थाल्छ,’ उनले भने। महामन्त्री थापाले सुरुवातबाट नै नीति निर्माणका लागि सम्बन्धित निकायले राजनीतिक दल र सरकारलाई आवश्यक सुझाव र परामर्श दिन आवश्यक रहेको औँल्याए।
नेपालमा सुरुवाती चरणमा कुनै कुरा नराख्ने, तर नीति, निर्माणको अन्तिम समयमा विभिन्न तर्कहरू अघि सार्ने प्रवृत्तिका कारण कतिपय ऐन, कानुनको संशोधन र निर्माण हुन नसकेको स्पष्ट पारे।