मधेस प्रदेश : प्रत्यक्षमा मुख्यमन्त्रीसहित दोहोरिए २७ सांसद

०७४ मा प्रत्यक्षबाट निर्वाचित ६४ मध्ये ५३ जना यसपटक पनि उम्मेदवार थिए, तीमध्ये २७ निर्वाचित हुँदा २६ पराजित भए

सोमबार, २६ मंसिर, २०७९
डिजिटल संस्करण
मधेस प्रदेश : प्रत्यक्षमा मुख्यमन्त्रीसहित दोहोरिए २७ सांसद

मधेश प्रदेश सभा भवन । तस्बिर : हदिश खुद्दार/नयाँ पत्रिका

आगामी पाँच वर्षका लागि भएको प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम परिणाम आइसकेको छ । देशैभरका निर्वाचन परिणाम हेर्दा दोहोरिएर सांसद बन्न चाहेका थुप्रै उम्मेदवार पराजित भएका छन् । विजयी भएकाहरूले प्राप्त गरेको मत हेर्दा अघिल्लोपटक भन्दा मतान्तर घटेको देखिन्छ । अर्थात्, दोहोरिएर सदनसम्म पुग्न चाहनेहरूप्रति जनताको रुचि कम रहेको देखिएको छ । 

यस्तै दृश्य, मधेस प्रदेश सभामा पनि देखिएको छ । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्लाबाट ६४ सांसद प्रत्यक्ष निर्वाचित भई मधेस प्रदेशमा पुगेका छन् । यी ६४ मध्ये २७ जना दोहोरिएका हुन् । 

दोहोरिएर सांसद भएकामा बहालवाला सरकारका मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज यादव, गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, कानुन न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोदकुमार यादव छन् । यस्तै, पूर्वमन्त्रीहरू जितेन्द्र सोनल, रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह, पूर्वराज्यमन्त्री अभिराम शर्मा पनि पुनः सांसद बनेका छन् । 

जित हासिल गरे पनि यीमध्ये धेरैजसोको लोकप्रियता आफ्नो निर्वाचन क्षेत्रमा खस्किएको देखिन्छ । किनभने, दोहोरिएका २७ मध्ये मुख्यमन्त्री राउतसहित १६ जनाले ०७४ मा भएको निर्वाचनमा भन्दा कम मत पाएका छन् । 

मुख्यमन्त्रीदेखि पूर्वमन्त्रीको घट्यो लोकप्रियता
यसपटक पनि पर्सा १ को प्रदेश सभा २ बाट निर्वाचित भएका मुख्यमन्त्री राउतले ०७४ माभन्दा मत घटाएका छन् । पाँच वर्षअघि उनले कांग्रेसका विजयकुमार सर्राफलाई दुई हजार ४४ मतान्तरले पराजित गरेका थिए । सोही क्षेत्रबाट यसपटक पनि निर्वाचित भएका राउतले कांग्रेसका रामनारायणप्रसाद कुर्मीलाई एक हजार ३३३ मतले मात्र पराजित गरे । 

बारा क्षेत्र नम्बर १ (२) बाट निर्वाचित मधेस प्रदेशका सभामुख सरोज यादवको पनि लोकप्रियता घटेको देखिन्छ । सोही क्षेत्रबाट ०७४ मा निर्वाचित हुँदा यादवले १४ हजार २६९ मत प्राप्त गरी कांग्रेसका भागवतप्रसाद साहलाई ६ हजार १४३ मतान्तरले पराजित गरेका थिए । यसपटक भने उनले कांग्रेसका नागेन्द्रप्रसाद कानुलाई पराजित गरे पनि मतान्तर चार हजार ८८७ मतको मात्र रह्यो ।

सिराहा क्षेत्र नम्बर ३(२) बाट निर्वाचित मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोदकुमार यादवको लोकप्रियता पनि खस्किएको छ । ०७४ मा उनले कांग्रेस उम्मेदवार सुभाषचन्द्र यादवलाई दुई हजार ४६८ मतान्तरले पराजित गरेका थिए । यसपटक उनले कांग्रेसकै उम्मेदवार संजयप्रकाश यादवलाई एक हजार ९६२ मतान्तरले विजयी भए । 

पूर्वमन्त्रीहरूको लोकप्रियता पनि खस्कियो
पुनः दोहोरिएका मधेस प्रदेशका पूर्वमन्त्रीहरू जितेन्द्र सोनल, वीरेन्द्रप्रसाद सिंह, अभिराम शर्माको लोकप्रियता पनि कम हुँदै गएको देखिन्छ । लोसपाका नेता पूर्वमन्त्री जितेन्द्र सोनल बारा क्षेत्र नम्बर ४(२) बाट दोहोरिएर निर्वाचित भएका छन् । 

०७४ मा सात हजार ४२६ मतान्तरले माओवादीका उमेशकुमार कुशवाहालाई हराएका सोनलले यसपटक जसपाका आत्मरामप्रसाद साहलाई पाँच हजार ३४३ मतान्तरले पराजित गरे । यस्तै, मधेस प्रदेशका युवा तथा खेलकुद पूर्वमन्त्री कांग्रेसका वीरेन्द्रप्रसाद सिंहले एमालेका रामबाबु रायलाई एक हजार ७७ मतान्तरले पराजित गरे । तर, ०७४ मा उनले निकटतम प्रतिस्पर्धी माओवादीका फकिर महतोलाई तीन हजार ८८९ मतान्तरले हराएका थिए । 

महोत्तरी ३(१) बाट लोसपाका नेता पूर्वराज्यमन्त्री अभिराम शर्माको पनि लोकप्रियता खस्किएको छ । ०७४ मा शर्मा ३६०४ मतान्तरले विजयी भएका थिए । यसपटक उनले मधेस प्रदेशका पूर्वमहान्यायाधिवक्ता जसपाका दीपेन्द्र झालाई तीन हजार ४३० मतान्तरले हराए । 

मधेस प्रदेशमा दोहोरिएका २७ जनामध्ये १७ जनाको लोकप्रियता खस्किएको देखिन्छ । जसमा धनुषा १ (२) बाट माओवादी केन्द्रका रामचन्द्र मण्डल, धनुषा २ (२) बाट जसपाका रामअशिष यादव, महोत्तरी १ (१) एमालेकी शारदादेवी थापा, महोत्तरी २ (१) बाट लोसपाका जयनुल राईन, महोत्तरी २ (२) स्वतन्त्रबाट सुरिताकुमारी साह, महोत्तरी ३ (२) लोसपाकी रानीकुमारी तिवारी, महोत्तरी ४ (२) बाट जसपाका सरोजकुमार सिंह पहिलेभन्दा कम मतान्तरसहित निर्वाचित भएका छन् । 

यस्तै, सर्लाही १ (१) बाट लोसपाका उपेन्द्र महतो, बारा २ (१) स्वतन्त्रबाट शारदाशंकरप्रसाद कलवार, बारा २ (२) बाट लोसपाका बच्चा राउत अहिर र पर्सा ४ (२) बाट जसपाका सिंगासन कलवारको लोकप्रियता खस्किएको छ । 

बहालवाला तीन मन्त्री पराजित
मधेस प्रदेशका बहालवाला तीनजना मन्त्री पराजित भएका छन् । जसपाबाट मुख्यमन्त्रीका दाबेदार रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह सप्तरी क्षेत्र नम्बर २ (१) बाट पराजित भए । अर्थमन्त्री साह जनमत पार्टीका सतिशकुमार सिंहसँग आठ हजार ४४२ मतान्तरले पराजित भए । साहले आठ हजार २९२ मत ल्याउँदा विजयी सिंहले १६ हजार ७३४ मत पाए । 

जसपाबाट मुख्यमन्त्रीका अर्का दाबेदार मानिएका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादव पनि ६ सय ४४ मतान्तरले जनमत पार्टीका संजयकुमार यादवसँग पराजित भए । मन्त्री यादवले ११ हजार ५२७ मत पाए भने जनमत पार्टीका संजयले १२ हजार १७१ मत पाए ।

मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो एक हजार ३४२ मतान्तरले एमालेका हरिनारायण महतोसँग पराजित भए । मन्त्री महतोले १५ हजार ९६० मत पाए भने एमालेका महतोले १७ हजार ३०२ मत पाए । 

जानकार भन्छन् – मतदाताले कामको मूल्यांकन गरेका हुन्

सत्तागठबन्धन र प्रतिपक्ष गठबन्धन भए पनि दोहोरिएका २७ जनामध्ये १६ जनाले ०७४ को निर्वाचनभन्दा कम मत पाउनु खस्किँदो लोकप्रियताको संकेत भएको जानकारहरू बताउँछन् । 

मधेस मामिलाका जानकार डा. सोहन साह पाँच वर्षको अवधिमा लोकप्रिय काम गर्न नसक्नु र लाभमै केन्द्रित हुनुले मुख्यमन्त्रीदेखि मन्त्रीहरूको मत घटेको बताउँछन् । 

प्राध्यापक चन्देश्वरप्रसाद यादव झिनो मतले भए पनि निर्वाचित भएर धेरैले आश्चर्यमा पारेको बताउँछन् । ‘झन्डै दोहोरिन पाएका छन्,’ उनी भन्छन्, ‘विगत पाँच वर्षको काम मूल्यांकन गर्दै मतदाताले मतदान गरे । जसको कारण ६४ मध्ये २७ मात्र दोहोरिए, अरू बडारिए ।’

सुझावित समाचार