मोरक्कोका धेरै खेलाडी फ्रान्स, स्पेन र नेदरल्यान्ड्समा बस्छन् । खेलाडी मात्रै हैन, देशकै धेरै जनसंख्या यिनै मुलुकमा रोजगारीका सिलसिलामा रहन्छन् । जब देशका लागि खेल्ने समय आउँछ, तब खेलाडी स्वदेश फर्कन्छन् । हाकिम जिएच, सोफियान बाउफल, रोमेन सैस, अर्चरफ हाकिमी तथा गोलरक्षक यासिन बोनो विदेशी लिग खेल्छन् । यी खेलाडी प्रायः दोस्रो मुलुकमै जन्मिएका हुन् ।
यी खेलाडी यसअघि पनि ठूला प्रतियोगितामा सहभागी भएका थिए । तर, यसरी चर्चा भएन र उपलब्धिसमेत हात परेको थिएन । विश्वकपमा मोरक्कोको प्रदर्शन सानदार छ । यो सबै परिवर्तन गर्नेमा प्रशिक्षक वालिड रेग्रगुईको मुख्य भूमिका छ ।
रेग्रगुई नै टोलीका रणनीति निर्माता हुन् । उनले केही महिनामै पूरै टोलीको मात्रै नभएर देशकै भाग्य बदलेका छन् । वालिड रेग्रगुई यसै अगस्टमा टोली सम्हाल्न नियुक्त भएका थिए । विश्वकपमा उनले रचेको डिफेन्सिभ रणनीति र काउन्टर अट्याक खेल सफल भएको छ ।