उखुको मूल्य ७०५ रुपैयाँ कायम गर्न माग

आइतबार, २५ मंसिर, २०७९
डिजिटल संस्करण

यस सिजनको लागि उखुको मूल्य ७ सय ५ रुपैयाँ कायम गर्न मिलगेट उखु उत्पादक समिति सर्लाहीले माग गरेको छ। 

आइतबार ज्ञापनपत्र सार्वजनिक गर्दै मिलगेट उखु उत्पादक समिति हरिवन सर्लाहीले सरोकारवाला निकायसँग उखुको मूल्य बढाउन माग गरेको हो। 

समितिका कार्यबाहक अध्यक्ष राजकुमार उप्रेतीको नेतृत्वमा रहेको टोलीले इन्दुशंकर चिनी उद्योग हरिवनमा ज्ञापनपत्र समेत बुझाएको छ। गत सिजनको मूल्यमा उखु बेच्नुपरे किसानलाई प्रतिबिघा ५८ हजार ९ सय घाटा हुने विज्ञप्तिमा उल्लेख छ। 

‘हाल इन्धनमा भएको वृद्धि, बैंकको ब्याजदरमा भएको वृद्धि, कृषि मजदुरको अभाव तथा मजदुरीमा भएको वृद्धि, मलखादको अभाव कालोबजारीसँग महँगोमा किन्नुपरेको अवस्थालाई मध्यनजर गरी यो मूल्य माग गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ। 

यसभन्दा पहिला क्रसिङ सिजन ०७८-७९ को लागि सरकारले उद्योगले ५ सय २० रुपैयाँ र सरकारले अनुदान बापत ७० रुपैयाँ दिने गरी ५ सय ९० कायम गरेको थियो। यस सिजनको लागि कम्तीमा ७ सय ५ रुपैयाँ कायम गरिनुपर्ने समितिका कार्यबाहक अध्यक्ष उप्रेतीले बताए। 

उखु उत्पादन समिति हरिवन सर्लाहीले चिनीमा राज्य आत्मनिर्भर हुनै लाग्दा उद्योगहरू उखु नपाएर धमाधम बन्द हुनुपर्ने अवस्था अत्यन्त चिन्ताजनक भएको किसान अगुवाहरूको भनाइ छ। 

उक्त कार्यक्रममा बोल्दै अगुवा उखु किसान एवं हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले किसानलाई उखु खेतीतर्फ आकर्षण गर्न र उन्नत जानका उखु उत्पादनमा जोड दिन नसके उखु र उद्योग दुवै संकटमा पर्ने बताए। 

सर्लाहीका एक करोड २० लाख क्विन्टलसम्म उखु उत्पादन हुने गरेको थियो। अहिले यसको अनुपात क्षेत्रफल र उत्पादन परिणाम दुवैतर्फबाट घटेको तथ्यांकले देखाउँछ। 

गत सिजनमा जिल्लामा झन्डै ६५ लाख क्विन्टल हाराहारीमा उखु उत्पादन भएको देखिएको छ। यो अनुपात लगातार घट्दो क्रममा छ। सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगले ५ वर्ष पहिला ४० लाख क्विन्टल बढी उखु क्रसिङ गरेको थियो। 

उखु अभावमा यस उद्योगले गत सिजनमा जम्मा २४ लाख १३ हजार ३ सय ४८ क्विन्टल उखु मात्र क्रसिङ गर्न पाएको थियो। यस सिजनमा उखुको परिमाण थप घट्ने जानकारहरूको भनाइ छ। जिल्लामा योसहित अन्नपूर्ण चिनी उद्योग धन्कौल र महालक्ष्मी चिनी उद्योग बगदह पनि सञ्चालनमा छन्। 
यीमध्ये अन्नपूर्ण चिनी उद्योगले किसानको उखुको भुक्तानी नदिएपछि क्रसिङ गर्न सकेको छैन भने, बगदहले पनि सोचेअनुरूप उखु पाएको छैन। 

सुझावित समाचार