हेटौँडामा नवनिर्मित तरकारी बजारको उद्घाटन

आइतबार, २५ मंसिर, २०७९
डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिका– १ स्थित राप्ती उकास क्षेत्रमा निर्माण गरिएको फलफूल तथा तरकारी स्टलको उद्घाटन गरिएको छ। नवनिर्मित तरकारी बजारको उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले आइतबार संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

हेटौँडा– १० बसपार्क क्षेत्रमा रहेको फलफूल तथा तरकारी बजार स्थान्तरण गर्ने उद्देश्यले नेपाल फलफूल तथा तरकारी व्यापारी संघ हेटौँडा र हेटौँडा उपमहानगरपालिकाको संयुक्त लगानीमा उक्त तरकारी बजार निर्माण गरिएको हो।

नयाँ बजारमा ७३ वटा होलसेल र ३३ वटा खुद्रा गरी १०६ वटा स्टल रहेको संघका अध्यक्ष खड्गबहादुर मोक्तानले जानकारी दिए। अध्यक्ष मुक्तानका अनुसार स्टल निर्माणका लागि बसपार्कमा रहेको तरकारी बजारका १०६ व्यवसायीका तर्फबाट प्रतिव्यापारी दुई लाख ५० हजार र उपमहानगरपालिकाले ३३ लाख रुपैयाँ लगानी गरेको छ।

कार्यक्रममा बोल्दै मेयर लामाले हेटौँडा बजारलाई व्यवस्थित बनाउने क्रममा तरकारी तथा फलफूल व्यवसायीलाई मुख्य बजार क्षेत्रबाट केही बाहिर ल्याउन परे पनि यसको व्यवस्थापनमा नगरपालिकाले सधैँ सहयोग गर्ने बताइन्। नवनिर्मित तरकारी बजार क्षेत्र राप्ती नदीको उकास भएकाले धेरैलाई खोला पस्छ कि भन्ने डर लागेको उल्लेख गर्दै उनले खोला नियन्त्रणका लागि उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा काम थाल्ने प्रतिबद्धता व्यक्त गरिन्।

सुझावित समाचार