आठ हजारभन्दा बढी भारतीयले हाल विभिन्न देशका जेलमा कैदीबन्दीका रूपमा सजाय काटिरहेको बताइएको छ । तीमध्ये चार हजार ३८९ व्यक्ति खाडी मुलुकका जेलमा रहेको केन्द्रीय विदेश राज्यमन्त्री वी मुरलीधरनले शुक्रबार बताएका छन् । ‘मन्त्रालयमा उपलब्ध तथ्यांकअनुसार विदेशमा कैदीका रूपमा रहेका भारतीय नागरिकको संख्या आठ हजार ४४१ रहेको छ । जसमध्ये चार हजार ३८९ खाडी मुलुकका जेलमा छन्,’ उनले बताए ।
युएईका जेलमा रहेका भारतीय नागरिकलाई बाँकी सजाय भारतीय जेलमा काट्ने गरी स्थानान्तरणको प्रयास गरिएको छ कि छैन भनी सोधिएको प्रश्नमा राज्यमन्त्री मुरलीधरनले युएईसँग नोभेम्बरमा सजाय पाएका व्यक्तिको स्थानान्तरणसम्बन्धी सम्झौता (टिएसपी)मा हस्ताक्षर भइसकेको बताए । ‘टिएसपी सम्झौताअनुसार सजाय पाएको व्यक्तिलाई आफ्नो देशमा स्थानान्तरण गर्न उक्त कैदीको स्थानान्तरण हुने इच्छा, स्थानान्तरण र प्राप्त गर्ने देशको सहमति, अनुरोध प्रक्रियाका लागि आवश्यक पूर्ण कागजातको उपलब्धता, क्लियरेन्सजस्ता विभिन्न औपचारिकता पूरा गर्नुपर्ने हुन्छ र सो प्रक्रियका लागि आवश्यक कागजात युएई पठाइसकिएको छ,’ उनले भने ।
दोहामा हिरासतमा रहेका आठ पूर्वनौसैनिक अधिकारीको मुद्दा चर्चामा आएपछि यो विषय भारतमा पुनः सार्वजनिक चासोको मुद्दा बनेको हो । डिसेम्बर १ मा मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले कतारमा पक्राउ परेका पूर्वभारतीय नौसेना अधिकारीको मामलामा नियमित रूपमा प्रतिक्रिया दिइरहेको र दूतावासले यस विषयलाई गम्भीर रूपमा लिइरहेको बताएका थिए ।