स्थायी संरचना नहुँदा १० दिने महोत्सव गर्न अस्थायी संरचनामा ८० लाख खर्च

१२ सय जना प्रत्यक्ष रोजगारी, ठप्प रहेको आर्थिक अवस्था चलायमान बनाउन महोत्सव आयोजना

बिहिबार, २२ मंसिर, २०७९
डिजिटल संस्करण

सिद्धार्थनगर उद्योग वाणिज्य संघ रुपन्देहीले ८० लाख खर्च गरेर १० दिनका लागि अस्थायी संरचना निर्माण गरेर लुम्बिनी पर्यटन महोत्सव सुरु गरेको छ। 

आज शुक्रबारदेखि ४ पुससम्म सञ्चालन हुने महोत्सवमा १० करोड बढीको कारोबार हुने अपेक्षा गरिएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले बताए। 

महोत्सवस्थलको अभाव र अस्थायी संरचनाबाट महोत्सव सञ्चालन गर्नुपर्ने बाध्यताका बीच पनि संघले महोत्सव गरेको न्यौपानेले बताए। कोरोना महामारीले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महोत्सवले धेरै भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे। 

महोत्सवले दैनिक ज्यालादारी गरेर जीवन चलाउनेदेखि लिएर उद्योग व्यवसाय सञ्चालन गर्ने सबै तहका नागरिकलाई समान लाभ दिने अध्यक्ष न्यौपानेले बताए। ८० लाख खर्च गरेर स्टलहरू निर्माण भएका छन्। स्टल निर्माणमा दैनिक सय बढी मजदुर काममा छन्। 

महोत्सवस्थलमा १० दिनको अवधिमा १२ सय बढीले प्रत्यक्ष रोजगारी पाउने न्यौपानेले बताए। महोत्सव सञ्चालनपछि हुने व्यापारले उद्योगी व्यवसायीहरूलाई केही मात्रामा सपोर्ट गरे पनि सुरुवातदेखि नै निम्न आयस्रोत भएकाहरूले रोजगारीको अवसर सिर्जना महोत्सवले गरिदिएको सिदार्थनगर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष कुलप्रसाद न्यौपानेले जानकारी दिए। 

‘स्टल निर्माण , साउन्ड सिस्टम , विद्युत् , खेलौनालगायतका क्षेत्रमा प्रत्यक्ष रूपमा रोजगारीको सिर्जना भएको छ। कम्तीमा पनि एउटा मजदुरले १० दिनको महोत्सवमा दशदेखि पन्ध्र हजारसम्म कमाउने अवस्था छ,’ न्यौपानेले भने। 

महोत्सवमा करिब ३ लाख दर्शकले अवलोकन गर्ने भएकाले बजारलाई गुल्जार बनाउन टेवा पुग्ने विश्वास लिएको उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

महोत्सवमा कृषि, खाद्यान्न, लत्ताकपडा, घरेलु तथा साना उद्योगको उत्पादन, पर्यटन, अटोमोबाइल्ससँग सम्बन्धित २ सय ५० स्टलहरू रहेको स्टल संयोजक नेत्र आचार्यले जानकारी दिए।  

कला संस्कृति, पर्यटन, कृषि तथा औद्योगिक एवं व्यापार क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव गर्न लागेको सिदार्थनगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए। उनले उपभोक्ता र उत्पादक एवं किसानहरूको प्रत्यक्ष भेटघाट हुने महोत्सवबाट यस भेगमा उत्पादित कृषिजन्य वस्तुहरू माछा तथा यस क्षेत्रका कुटिर, घरेलु एवं राष्ट्रियस्तरका उद्योगहरूबाट उत्पादित उत्पादनहरूको विशेष प्रस्तुतीकरण महोत्सवमा रहने जानकारी दिए। 

महोत्सव प्रचारप्रसार समितिका संयोजक कृष्णप्रसाद घिमिरेले उद्योग व्यवसाय मात्र नभएर यस क्षेत्रका विद्यालयका विद्यार्थीहरूलाई पनि विभिन्न प्रतियोगिताहरूका माध्यमबाट महोत्सवसँग जोड्ने प्रयास भएको बताए। 

यस्ता महोत्सव आयोजन गर्न स्थायी मण्डपको अभाव रहेकाले लाखौँ रकम वार्षिक रूपमा अस्थायी संरचनामा खर्च गर्नुपर्ने बाध्यता रहेको छ। संघका महासचिव विजय पाण्डेले यसपटक स्थायी मण्डपको माग गर्दै सरकारलाई दबाब दिन महोत्सवस्थलबाटै हस्ताक्षर अभियानसमेत चलाएको जानकारी दिए। ‘भैरहवामा मण्डप निर्माणका लागि उपयुक्त जग्गाको पहिचान भएको छ, त्यसलाई सरकारले व्यवस्था गरिदिनुपर्दछ भन्ने हाम्रो चाहना हो,’ महासचिव पाण्डेले भने। 

सुझावित समाचार