प्रदूषण जाँच पास नभएका गाडी चलाए पुस १ देखि एक लाखसम्म जरिवाना

बिहिबार, २२ मंसिर, २०७९
डिजिटल संस्करण

वन तथा वातावरण विभागले सवारीधनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुला रूपमा जलाउने फोहोर रहेको भन्दै प्रदूषण जाँच गरेर मात्र सवारीसाधन चलाउन आग्रह गरेको हो ।

अबका दिनमा गाडीको धुवाँ निष्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनेसमेत विभागले जनाएको छ । पछिल्लो समय धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडी फेला परेका छन् । 

एकपटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकोमा अब पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई  एक लाखसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ ।  

कैफियत भेटिएमा वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ उपदफा २ अनुसार जरिवाना हुने सूचनामा उल्लेख छ । छड्के जाँचमा प्रदूषण जाँचपासको रूपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गरिने विभागले चेतावनी दिएको छ ।    

साथै विभागले कसैले टोलछिमेकमा खुला रूपमा फोहोर जलाउने तथा खुला रूपमा फोहोर जलाएको पाइएमा गोप्य रूपमा जानकारी दिनसमेत आग्रह गरेको छ । यसरी खुला रूपमा फोहोर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ ।     
 
 

See More On

सुझावित समाचार