विश्वकप फुटबल प्रतियोगितामा गोलरक्षकहरूको पनि चर्चा हुने गर्छ । उत्कृष्ट प्रदर्शन गरेको अवस्थामा ती गोलरक्षकले वाहवाही पाउँछन् । सामान्य गल्ती वा धेरै गोल बेहोर्दा गोलरक्षकले नराम्रो प्रतिक्रिया सुन्नुपर्ने हुन्छ । कहिलेकाहीँ खराब दिन रहँदा गोलरक्षकले जति उत्कृष्ट प्रदर्शन गरे पनि आफ्नो टोलीलाई जित दिलाउन सक्दैनन् । यस्तो अवस्थामा टोली र गोलरक्षक दुवै आलोचनाका पात्र बन्छन् ।
विश्वकपको एक संस्करणमा यस्तै भएको छ । सन् १९५४ मा स्विट्जरल्यान्डले विश्वकप आयोजना गरेको थियो । यस विश्वकपमा एसियाबाट दक्षिण कोरिया छनोट भयो । तर, विश्वकपमा सहभागी हुन दक्षिण कोरियन खेलाडीले विभिन्न समस्या सामना गरेका थिए । हवाईजहाजको टिकेट समयमै नपाउँदा स्विट्जरल्यान्डमा चारजना खेलाडी प्रतियोगिता सुरु हुनु ४६ घन्टाअघि मात्र पुगे । दक्षिण कोरियाका गोलरक्षक हाङ डेओक योङ पनि ढिला गरी स्विट्रल्यान्ड पुग्ने खेलाडी थिए ।
लामो हवाई यात्रा र थकान मटाउन नपाउँदै उनले शक्तिशाली राष्ट्र हंगेरीसँग प्रतिस्पर्धा गरे । पोस्ट सम्हाल्दा उनी फिट थिएनन् । कोरियाको खराब डिफेन्समा हंगेरीले दनादन गोलको वर्षा गर्यो । यस खेलमा हंगेरीले दक्षिण कोरियालाई ९–० ले पराजित ग¥यो । विश्वकप इतिहासमा धेरै अन्तरको जितमा यो खेल पनि समावेश छ ।
अर्को खेलमा दक्षिण कोरियाको भेट टर्कीसँग भयो । यस खेलमा दक्षिण कोरियन प्रशिक्षकले नियमित सात खेलाडी परिवर्तन गरे । तर, नतिजा सोचेजस्तो भएन । टर्कीले दक्षिण कोरियालाई ७–० ले हरायो । दुई खेलमा गोलरक्षक होङले १६ गोल खाए । विश्वकपमा सबैभन्दा खराब गोलकिपिङ रेकर्डमा उनको नाम शीर्ष स्थानमा छ ।