ग्वार्कोमा बन्ने भयो नेपालको पहिलो ‘फ्लाई ओभर’

शुक्रबारदेखि निर्माण सुरु, १४ महिनाभित्र बनिसक्ने, १७ करोड ६८ लाख लगानी

सोमबार, १९ मंसिर, २०७९
डिजिटल संस्करण
ग्वार्कोमा बन्ने भयो नेपालको पहिलो ‘फ्लाई ओभर’

फ्लाई ओभर निर्माण गर्ने चक्रपथको ग्वार्को चोक । तस्बिर : संजित परियार/नयाँ पत्रिका

ललितपुरस्थित ग्वार्काे चोकमा बनाउने भनिएको ‘फ्लाई ओभर’ (ओभर पास) निर्माण आगामी शुक्रबार (२३ मंसिर)बाट सुरु हुने भएको छ । आयोजनाको ठेक्काप्राप्त आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि निर्माण सुरु गर्न लागेका हुन् ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले शुक्रबारदेखि ग्वार्काे फ्लाई ओभरको निर्माण सुरु हुने बताए । त्यसका लागि आवश्यक तयारी पूरा भएको उनको भनाइ छ ।

विभागले ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित चक्रपथको ग्वार्काे, एकान्तकुना र सातदोबाटो चोकमा फ्लाई ओभर बनाउने योजना अघि बढाएको थियो । त्यसमा पहिलो चरणअन्तर्गत ग्वार्काे चोकको फ्लाई ओभर निर्माण गर्न लागिएको हो । नेपालको सडक सञ्जालनमा बन्न लागेको यो पहिलो फ्लाई ओभर पुल हो । 

यद्यपि, नागढुंगा सुरुङमार्गमा पनि एक फ्लाई ओभर निर्माण हुनेछ । तर, त्यसको अझै निर्माण सुरु भएको छैन । हाल त्यसको डिजाइन बनाउने काम भइरहेको छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नवीनमान श्रेष्ठले नेपालका लागि यो नै पहिलो फ्लाई ओभर हुने बताए । 

विभागले इपिसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा उक्त आयोजना बनाउने गरी साउन ०७८ टेन्डर आह्वान गरेको थियो । त्यसपछि माघ ०७८ मा आरसी, समानान्तर र रेलिग्रे जेभी त्यसमा छनोट भएका थिए । त्यसलगत्तै ठेक्का सम्झौता गरेर निर्माण कम्पनीहरूले फागुन ०७८ देखि आयोजनाको डिजाइन बनाउन सुरु गरेका थिए । यस आयोजनाको डिजाइन गत साता मात्रै सडक विभागबाट स्वीकृति भएको थियो । 

यस्तो हुनेछ फ्लाई ओभर 
यस फ्लाई ओभरको कुल लम्बाइ चार सय ९० मिटर हुनेछ । त्यसमा बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो ¥याम र सातोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको र्‍याम बनाइनेछ । बीचको सुपर स्ट्रक्चरको लम्बाइ भने ३५ मिटर लामो हुनेछ । फ्लाई ओभरको उचाइ ६ मिटरको हुनेछ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाई ओभरको उचाइ ६ मिटर राखिएको हो । 

चक्रपथको यो खण्ड हाल आठ लेनको छ । त्यसमा बीचको चार लेनको सडकलाई फ्लाई ओभरमार्फत माथि उठाइनेछ, जसमा चक्रपथमै आवतजावत गर्ने सवारीसाधन चल्नेछन् । मंगल बजार–इमाडोल–मंगलबार आवतजावत गर्ने सवारीसाधन भने फ्लाई ओभरमुनिबाट जानुपर्नेछ । 

फ्लाई ओभर नेपाल सरकारकै लगानीमा बन्नेछ । त्यसमा १७ करोड ६८ लाख रुपैयाँ लगानी गरिएको विभागको भनाइ छ । निर्माण कम्पनीसँग सोहीअनुसार नै ठेक्का सम्झौता भएको विभागको भनाइ छ । 

 यसरी गरिँदै छ ट्राफिक व्यवस्थापन 
फ्लाई ओभर निर्माण अवधिभर उक्त चोकमा ट्राफिक व्यवस्थापन गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक डाइभर्सनको व्यवस्था गरिसकेको छ । निर्माण अवधिभर कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, माहलवाहक तथा दुईपांग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपांग्रे सवारीसाधनलाई फास्ट ट्र्याकबाट चलाइनेछ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई भने ग्वार्काे चोकभन्दा ६ सय मिटरअगाडि र पछाडि सर्भिस लेनबाट सञ्चालन गरिनेछ । बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने सवारीसाधनलाई सर्भिस लेनमा र साना चारपांग्रे गाडीलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिनेछ ।

 सातदोबाटो र एकान्तकुनामा फ्लाई ओभर बन्ने कहिले ? 
विभागले योबाहेक सातदोबाटो र एकान्तकुनामा पनि फ्लाई ओभर बनाउने प्रक्रिया अघि बढाएको छ । त्यसको सम्भाव्यता अध्ययनसमेत सम्पन्न भइसकेको छ । तर, निर्माण सुरु गर्ने विषय भने अझै टुंगो नलागेको विभागका निर्देशक नवीनमान श्रेष्ठले बताए । विभागले बहुवर्षीय आयोजनाअन्तर्गत उक्त फ्लाई ओभरहरू बनाउन राष्ट्रिय योजना आयोग र रकम सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको छ । तर, हालसम्म त्यसको कुनै प्रतिक्रिया नआएको श्रेष्ठको भनाइ छ ।

कहिले बनिसक्छ फ्लाई ओभर ? 
विभागले निर्माण कम्पनीसँग दुई वर्षको अवधिसहित ठेक्का सम्झौता गरेको छ । त्यसमा डिजाइन बनाउन नौ महिना समय लागेको छ । १४ महिनाको समय तोकेर ट्राफिक कार्यालयमा पत्र पठाएको छ । 
 

सुझावित समाचार