एपेन्डिसाइटिसका यस्ता हुन्छन् लक्षण

आइतबार, १८ मंसिर, २०७९
डिजिटल संस्करण

पेटभित्र ठूलो आन्द्राको पहिलो भागमा रहेको औला आकारको एक मसिनो आन्द्रालाई एपेडिक्स भनिन्छ । जुकाजस्तै मसिनो हुने भएकाले यसलाई ‘जुके आन्द्रा’ पनि भनिन्छ । यो आन्द्राको कामबारे पनि फरक–फरक तर्क छन् । एपेन्डिक्समा हाम्रो शरीरलाई चाहिने लाभदायक ब्याक्टेरिया रहने तथा यसले विभिन्न रोगहरूसँग लड्न सहयोग गर्ने नयाँ अध्ययनहरूले देखाएका छन् । जब कि पहिले–पहिले यसलाई शरीरको काम नलाग्ने अंग पनि भनिन्थ्यो । एपेन्डिक्स सुन्निएको अवस्थालाई हामी एपेन्डिसाइटिस भन्छौँ । एपेन्डिक्स पेन कहिले स्थिर त कहिले गम्भीर हुन्छ । यो समस्या जोकोहीमा हुन सक्छ । प्रायःजसोे यो १० र ३० वर्षबीचका व्यक्तिमा हुन्छ । यसको सर्वोत्तम उपचार एपेन्डिक्सको शल्यक्रिया गरेर हटाउनु हो । 

एपेन्डिसाइटिसको उपचार एक आपत्कालीन चिकित्सा हो । यस्ता बिरामीले तत्काल प्रभावकारी उपचार पाएनन् भने एपेन्डिक्स फुटेर रोगीको ज्यान नै जाने जोखिम हुन सक्छ । त्यसैले यसका लागि प्राकृतिक उपचारमा भर पर्नु उपयुक्त हुँदैन । यद्यपि, असुविधाको क्षणमा केही उपचार पद्धति पनि काममा आउन सक्छन् ।

लक्षण
- तल्लो पेटको दायाँपट्टि अचानक दुखाइ हुने । (नाभिवरिपरि अकस्मात् दुखाइ सुरु भएर क्रमशः तल्लो दाहिने पेटमा सर्छ ।)
- खोक्दा बढी दुख्ने 
- बान्ता हुने 
- भोक कम लाग्ने 
- हल्का ज्वरो आउने 
- कब्जियत वा पखाला लाग्ने 

कारण : एपेन्डिसाइटिस संक्रमणको मुख्य कारण एपेन्डिक्स नलीमा अवरोध उत्पन्न हुनु हो । आन्द्रामा ग्यास भरिनु, पेटमा कुनै गहिरो चोट लाग्नु, पाचन नलीको संक्रमण हुनुलगायत पनि एपेन्डिसाइटिसका सम्भावित कारण हुन् । एपेन्डिसाइटिस भएपछि ब्याक्टेरियाहरू दु्रत गतिमा वृद्धि हुन्छन् । जसका कारण एपेन्डिक्स सुन्निने, फुल्ने र पिप भरिने हुन्छ । एपेन्डिसाइटिसको सम्भावना हुनेबित्तिकै सर्जरी गर्ने सल्लाह दिने गरिन्छ । यस्तो अप्रेसनलाई एपेन्डेटोक्मी भनिन्छ । शल्यक्रिया गर्दा अन्य दीर्घकालीन समस्याबाट पनि बच्न सकिन्छ । यदि तुरुन्त उपचार गरिएन भने एपेन्डिक्स फुट्न सक्छ ।

कसलाई हुन्छ ? 
जोकोहीमा पनि एपेन्डिसाइटिस हुन सक्छ । प्रायःजसोे यो १० र ३० वर्षबीचका व्यक्तिमा हुन्छ । यसको उत्तम उपचार शल्यक्रिया हो । कतिपय अवस्थामा औषधिको प्रयोगले पनि बिरामीलाई राहत मिल्न सक्छ, तर तत्कालका लागि निको भए पनि भविष्यमा फेरि उही समस्या बल्झिन सक्ने जोखिम रहन्छ । त्यसैले शल्यक्रिया गरेर एपेन्डिक्स हटाउनु नै उत्तम विधि हो । शल्यक्रिया पनि परम्परागत शल्यक्रिया (पेट चिरेर) वा ल्याप्रोस्कोपी विधि (शरीरमा स–साना प्वाल बनाएर दूरबिनको सहायताले) बाट गर्न सकिन्छ ।

सुझावित समाचार