रवि लामिछानेको नागरिकता विवादमा प्रहरीद्वारा अनुसन्धान सुरु

शनिबार, १७ मंसिर, २०७९
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले खारेज भइसकेको नागरिकता प्रयोग गरेको विषयमा परेको उजुरीउपर प्रहरीले अनुसन्धान थालेको छ । गृह मन्त्रालयले काठमाडाै‌ं प्रशासन कार्यालय हुँदै यससम्बन्धी परेको उजुरीउपर छानबिन गर्ने जिम्मेवारी जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र पठाएको हो । 

प्रशासन कार्यालयले बिहीबार काठमाडौं प्रहरीलाई सो उजुरीमाथि छानबिन गर्न पत्राचार गरेको हो । प्रशासन कार्यालयबाट उजुरी प्राप्त भएको र अनुसन्धान प्रक्रिया अघि बढ्ने काठमाडौं प्रहरीले जनाएको छ । ‘त्यस विषयमा अनुसन्धानका लागि भनेर जिल्ला प्रशासन कार्यालयबाट पत्र आएको छ,’ परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले भने, ‘सरकारी वकिललगायतसँग छलफल गरेर अघि बढ्छौँ ।’ 

हालै सम्पन्न निर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने अमेरिकाको नागरिक बनेपछि नेपालको नागरिकता स्वतः खारेज भएको, तर सोही खारेज भएको नागरिकताका आधारमा उम्मेदवारी दर्तालगायतको काम गरेको भन्दै गृह मन्त्रालयमा उजुरी परेको हो ।

लामिछानेले सन् २०१४ मा अमेरिकाको नागरिकता र पासपोर्ट लिएका थिए । विदेशी नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः बदर हुने नागरिकता ऐनको प्रावधान छ । उनले सन् २०१८ मा अमेरिकी नागरिकता त्याग गरेको जानकारी जिल्ला प्रशासनलाई गराएका थिए । त्यसरी जानकारी गराएपछि नयाँ नागरिकता लिनुपर्नेमा २०१४ मा खारेज भइसकेकै नागरिकता प्रयोग गरेको विषयमा उनीविरुद्ध उजुरी परेको हो ।

प्रारम्भिक अनुसन्धान गर्दा उनले नागरिकता ऐनसम्बन्धी कसुर गरेको देखिएमा प्रहरीले पक्राउ पुर्जी जारी गरी विस्तृत अनुसन्धान अघि बढाउनेछ । यो उजुरीमा विदेशको नागरिकता त्यागेपछि फेरि नयाँ नागरिकता लिनुपर्ने हो कि पुरानै नागरिकताले वैधानिकता पाउने हो भन्ने विषय प्रमुख छ । 

सुझावित समाचार