एउटा ठूलो कार कम्पनीका अटोमोबाइल इन्जिनियरले एक विश्वस्तरीय कारको डिजाइन तयार गरे । कम्पनीका मालिकलाई पनि उनको त्यो डिजाइन निकै मन पर्यो । उनले ती इन्जिनियरको मन खोलेर प्रशंसा गरे । इन्जिनियरले पनि आफ्नो डिजाइनअनुसारको कार तयार गर्न कुनै कसर बाँकी राखेनन् ।
उनको मिहिनेतअनुसार कार तयार भयो । कारको टेस्ट ड्राइभको दिन पनि आइपुग्यो । जब टेस्ट ड्राइभका लागि कार निकाल्ने तयारी भयो, तब इन्जिनियर झस्किए । किनकि, कारको उचाइ गेटको उचाइभन्दा केही इन्च बढी थियो । आफूले कार निर्माण गर्दा यो सब कुरामा ध्यान नपुर्याएको देखेर इन्जिनियर निराश भए ।
कारलाई जबर्जस्ती बाहिर निकाल्न त सकिन्थ्यो । तर, त्यसो गर्दा कारको छत कोरिन्थ्यो । कारको छतमा लगाइएको पाता कुच्चिन पनि सक्थ्यो । बाहिर निकालिसकेपछि पुनः मर्मत गर्नुपथ्र्यो । फेरि रङ लगाउनुपथ्र्यो । रङरोगन शाखाका इन्जिनियरले अनुमति दिए । मालिकले पनि अनुमति दिए । तर, इन्जिनियरलाई पुनः मर्मत गर्दा कार पहिलेजस्तो हुने हो कि होइन भन्ने द्विविधा भइरहेको थियो । उता कम्पनीका म्यानेजरले भने गेटको माथिल्लो भाग निकालेर पछि पुनः मर्मत गर्ने सल्लाह दिए ।
मालिक, म्यानेजर र इन्जिनियरहरूले गरिरहेको कुराकानी कम्पनीका गार्डले सुनिरहेका थिए । उनले भने– यदि हजुरहरूले मलाई एक मौका दिनुभयो भने म समस्याको समाधान निकाल्न सक्छु कि ? मन नलागी–नलागी पनि मालिकले अनुमति दिए ।
गार्डले गाडीको चारै पाङ्ग्राको केही हावा निकालिदिए । कारको उचाइमा ३–४ इन्चको कमी आयो । जसले गर्दा कार सजिलै बाहिर निस्कियो । यो देखेपछि त्यहाँ उपस्थित सबैले कुनै पनि समस्या विशेषज्ञको नजरबाट मात्र हेरेर नहुने रहेछ, त्यसलाई एक आममानिसको आँखाबाट पनि हेर्नुपर्ने रहेछ भन्ने बुझे ।