११ महिनामा भित्रिए साढे पाँच लाख पर्यटक

शुक्रबार, १६ मंसिर, २०७९
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) हुँदै जहाज चढेर नेपाल भ्रमणमा आउने विदेशी पर्यटक बढ्न थालेका छन् । सन् २०२२ को पहिलो ११ महिना (जनवरी–नोभेम्बर)मा पाँच लाख ४६ हजार दुई सय १६ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या कोभिड महामारी सुरु हुनुअघि सन् २०१९ को तुलनामा ५५ प्रतिशत हाराहारी हो । 

महामारी कम हुँदै गएपछि पर्यटक आगमन पनि बढ्दै गइरहेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । नोभेम्बर २०२२ मा त्रिभुवन विमानस्थल हुँदै ७२ हजार ६ सय ५३ विदेशी पर्यटक आएका छन् । नोभेम्बर २०१९ मा त्रिभुवन विमानस्थल र उत्तरी तथा दक्षिणी सडक नाकाबाट एक लाख ३० हजार तीन सय दुई पर्यटक नेपाल भित्रिएका थिए । नोभेम्बर २०१९ लाई नोभेम्बर २०२२ सँग तुलना गर्दा पर्यटक आगमन ५५.७६ प्रतिशतले रिकभरी भएको देखिन्छ । भारत र चीनसँग सीमा जोडिएको नेपालमा सडकमार्गबाट पनि ठूलो संख्यामा पर्यटक आउने गर्छन् ।

कोभिड महामारी कम भएसँगै सन् २०२२ को सुरुवातदेखि नै पर्यटक आगमन निरन्तर बढिरहेको छ । कोभिड महामारी फैलिन थालेपछि अक्टोबर २०२० मा एक हजार नौ सय ५६ र नोभेम्बर २०२१ मा २६ हजार एक सय ३५ पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

पर्यटन बोर्डका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार ६ सय आठ, जुनमा ४६ हजार नौ सय ५७, जुलाईमा ४४ हजार चार सय ६२, अगस्टमा ४१ हजार तीन सय चार, सेप्टेम्बरमा ५८ हजार तीन सय १४, अक्टोबरमा ८८ हजार पाँच सय ८२ र नोभेम्बरमा ७२ हजार ६ सय ५३ पर्यटक भित्रिएका छन् । 

हिमाल चढ्ने आरोही साढे १४ सय 
शरद्कालीन पर्यटकीय सिजनमा नेपालमा हिमाल आरोहण र ट्रेकिङमा आउने पर्यटक उल्लेख्य बढेको देखियो । पर्यटन विभागले शरद् ऋतुमा नेपालसहित ७७ देशका तीन सय ३१ महिलासहित १४ सय ४१ आरोहीलाई आरोहण अनुमति दिएको छ । यो सिजनमा आमादब्लम (६,८१४ मि.) र मनास्लु (७,२३४ मि.) हिमाल आरोहण गर्न आउने आरोही सबैभन्दा धेरै हुन्छन् । शरद् सिजनमा आमादब्लम आरोहण गर्न चार सय ७५ र मनास्लु आरोहण गर्न चार सय चार आरोहीले अनुमति लिएका छन् । 

सगरमाथा आरोहणका लागि वसन्त ऋतु उत्तम मानिन्छ । त्यो समय सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने हुन्छन् । हिमाल चढ्न अनुमति लिने आरोहीले रोयल्टीबापत नौ करोड ३१ लाख रुपैयाँ बुझाएको पर्यटन विभागले जनाएको छ । यो सिजनमा हिमाल आरोहण गर्ने र ट्रेकिङ जाने पर्यटकका कारण खुम्बु क्षेत्रसहित विभिन्न ट्रेकिङ रुट खचाखच भरिएका थिए । 

 नोभेम्बरमा कुन देशबाट कति पर्यटक ?
नेपालमा सबैभन्दा धेरै पर्यटक छिमेकी मुलुक भारतबाट आउने गर्छन् । नोभेम्बर २०२२ मा भारतबाट २० हजार पाँच सय ३२ अर्थात् कुल संख्याको २८.२६ प्रतिशत पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोभिडअघि भारतपछि सबैभन्दा धेरै पर्यटक चिनियाँ आउने गर्थे । तर, चीन सरकारले शून्य कोभिड नीति लिएर आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाउँदा नोभेम्बरमा चीनबाट एक हजार ३८ पर्यटक मात्र नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांक छ ।

भारतपछि सबैभन्दा धेरै पर्यटक भित्रिनेमा अमेरिका र युके रहेका छन् । नोभेम्बरमा अमेरिकाबाट सात हजार आठ सय ३१ र युकेबाट पाँच हजार एक सय ६५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस्तै, बंगलादेशबाट दुई हजार दुई सय १८, श्रीलंकाबाट एक हजार १८, मलेसियाबाट एक हजार पाँच सय ९३, दक्षिण कोरियाबाट एक हजार ६ सय ७०, थाइल्यान्डबाट दुई हजार चार सय ४१, फ्रान्सबाट दुई हजार पाँच सय ६१, जर्मनीबाट दुई हजार दुई सय ९२, नेदरल्यान्डबाट एक हजार एक सय ४८, अस्ट्रेलियाबाट तीन हजार तीन सय ७५, क्यानडाबाट एक हजार एक सय ८४ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

See More On

सुझावित समाचार