हाम्रो सौर्यमण्डलको रातो ग्रह मंगल जमिनमा खियायुक्त फलामे संरचनाका लागि लोकप्रिय छ । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार मंगल ग्रहको औसत तापक्रम माइनस ८० डिग्री फरेनहाइट छ । वायुमण्डल धेरै चिसो भएकाले बरफबाहेक कुनै पनि स्वरूपमा पानी मंगलको सतहमा रहन सक्दैन । यसको अर्थ मंगल ग्रहमा तरल पानी हुँदैन ।
तर, अहिले एक नयाँ अध्ययनले मंगलमा ३०० मिटर (एक हजार फिट) गहिरो सागर थियो भन्ने दाबी गरेको छ । त्यहाँ साढे चार अर्ब वर्षअघि सागर रहेको अध्ययनको निष्कर्ष छ । युनिभर्सिटी अफ कोपनहेगनले केही दिनअघि सो अध्ययन प्रकाशित गरेको हो ।
‘यो समयमा मंगल ग्रहमा बरफयुक्त क्षुद्र ग्रहहरू ठोक्किन आइरहन्थे । मंगल ग्रह विकासको पहिलो १० करोड वर्षमा यस्तो भएको थियो । अर्को चाखलाग्दो कोण के भने ती क्षुद्र ग्रहले जैविक अणुहरू पनि बोकेका थिए, जुन जीवनका लागि जैविक रूपमा महत्वपूर्ण हुन्छ,’ सेन्टर फर स्टार एन्ड प्लानेट फर्मेसनको एक विज्ञप्तिमा प्राध्यापक मार्टिन बिजारो भन्छन् । बरफयुक्त क्षुद्र ग्रहहरूले यो रातो ग्रहमा पानी मात्र होइन, एमिनो एसिडजस्ता जैविक रूपले महत्वपूर्ण यौगिकहरू पनि ढुवानी गरेको थियो ।
एक नयाँ अध्ययनले मंगलमा ३०० मिटर गहिरो सागर थियो भन्ने दाबी गरेको छ । त्यहाँ साढे चार अर्ब वर्षअघि सागर रहेको अध्ययनको निष्कर्ष छ ।
पछिल्लो अनुसन्धानअनुसार मंगलका प्राचीन महासागरहरू कम्तीमा ३०० मिटर गहिरा थिए । ती बढीमा एक किलोमिटर गहिरासम्म हुन सक्छन् । बिजारोका अनुसार वास्तवमा पृथ्वीमा त्यति पानी छैन ।उनले अगाडि थपे, ‘यो सब मंगल ग्रहको पहिलो १० करोड वर्षभित्र भएको थियो । यो अवधिपछि पृथ्वीमा सम्भावित जीवनका लागि केही विपत् भएको हुनुपर्छ ।
पृथ्वी र मंगलको बीचमा मंगलजत्रै अर्को ग्रह पृथ्वीसँग ठोक्किन आइपुगेको विश्वास गरिन्छ । यही ठक्करले पृथ्वी–चन्द्र प्रणालीलाई आकार दिएको मानिन्छ ।’ वैज्ञानिकहरूले मंगल ग्रहमा पृथ्वीमा भन्दा पनि पहिले नै जीवनका लागि अनुकूल अवस्था थियो भन्ने ठोस प्रमाण पाएका छन् ।