असिस्टमा मेसीको रेकर्ड

मेसी पाँचवटा विश्वकपमा गोलका लागि असिस्ट गर्ने पहिलो खेलाडी

सोमबार, १२ मंसिर, २०७९
डिजिटल संस्करण

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी पाँचवटा विश्वकपमा गोलका लागि असिस्ट गर्ने पहिलो खेलाडी बनेका छन् । कतार विश्वकपअन्तर्गत शनिबार अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले हराउँदा मेसीले एक गोल र अर्को गोलमा असिस्ट गरेका थिए ।

उनले ८७औँ मिनेटमा इन्जो फर्नान्डेजले कप्तान मेसीको पासमा गोल गरेका थिए । मेसीले डेब्यु गरेको सन् २००६ को विश्वकपमा असिस्ट गरेका थिए । उनले सन् २०१०, २०१४ र २०१८ को विश्वकपमा पनि गोलका लागि असिस्ट गरे । सन् २००६ मा जर्मनीले आयोजना गरेको विश्वकपमा मेसीले डेब्यु गरे । उनले सर्बियाविरुद्ध गोल गर्नुका साथै असिस्ट पनि गरे । सर्बियासँगको प्रतिस्पर्धामा उनी विश्वकपको एकै खेलमा गोल र असिस्ट गर्ने सबैभन्दा कान्छा खेलाडी बने । 

मेसीले सन् २०१० को विश्वकपमा मेसी गोलविहीन भए । तर, उनले एकपटक गोलका लागि पास उपलब्ध गराए । सन् २०१४ को ब्राजिलले आयोजना गरेको विश्वकपमा मेसी उत्कृष्ट फर्ममा थिए । उनले प्रतियोगितामा चार गोल गर्नुका साथै एक असिस्ट गरेका थिए । सो विश्वकपमा अर्जेन्टिना फाइनलमा जर्मनीबाट १–० ले पराजित भएको थियो । चार वर्षअघि रुसमा आयोजित विश्वकपमा उनले एक गोल र दुई असिस्ट गरेका थिए । 

मेक्सिकोविरुद्ध उनी विश्वकप इतिहासमा एकै खेलमा गोल र असिस्ट गर्ने सबैभन्दा पाका खेलाडी पनि बनेका छन् । कोपा अमेरिकामा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान मेसीकै नाममा छ । 

See More On

सुझावित समाचार