कृत्रिम सूर्य निर्माण मुख्य भागको काम सम्पन्न

सोमबार, १२ मंसिर, २०७९
डिजिटल संस्करण

चीनले संसारकै सबैभन्दा ठूलो ‘कृत्रिम सूर्य’ भनेर चिनिने अन्तर्राष्ट्रिय थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रिएक्टर (आइटिइआर)को मुख्य भागको काम सम्पन्न गरेको छ । फ्रान्समा आधारित आइटिइआर न्युक्लियर फ्युजनको एउटा विशाल अन्तर्राष्ट्रिय परियोजना हो । यो परियोजना युरोपका २७ देशसहित अमेरिका, चीन, बेलायत, स्विट्जरल्यान्ड, भारत, जापान, कोरिया गणतन्त्र, रुसलगायत ३५ देशको अभूतपूर्व अन्तर्राष्ट्रिय सहकार्य हो । यो रिएक्टरले सूर्यकै जस्तो प्रक्रिया प्रयोग गरी स्वच्छ ऊर्जा उत्पादन गर्न सक्षम हुने विश्वास गरिएको छ । 

यसका लागि सोधकर्ताकहरूले आणविक फ्युजनको प्रक्रियालाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । यसले ताराहरूको केन्द्रमा जसरी हाइड्रोजन हिलियम र हिलियम हाइड्रोजनमा बदलिन्छ सोही प्रक्रिया उपयोग गरी अथाह सफा ऊर्जा निकाल्न खोजेको छ । यस प्रक्रियामा दुई हलुका आणविक न्युक्लियसहरूको फ्युजन गरी त्यसलाई गह्रौँ बनाइन्छ । यस प्रक्रियामा निकै ठूलो परिणाममा ऊर्जा उत्पन्न हुन्छ । न्युज विकका अनुसार यो परियोजनाको मुख्य लक्ष्य रियाक्सन प्रोसेस सुरु गर्न पठाइने ऊर्जाभन्दा रियाक्सन प्रोसेस सुरु हुँदा उत्पन्न हुने ऊर्जा निकै हुन्छ भनेर देखाउनु हो । 

निर्माण लागतको ठूलो हिस्सा (४५ प्रतिशत) युरोपले व्यहोर्नेछ भने बाँकीमा प्रत्येक देशले नौ प्रतिशतको हाराहारी खर्चमा हिस्सेदारी गर्नेछन् । यी मुलुकहरूले यसका कम्पोनेन्ट, प्रणाली वा पूर्वाधार निर्माण गरिदिएर पनि आइटिइआर परियोजनालाई सहयोग गर्न सक्नेछन् । 

चीनको सरकारी सञ्चारमाध्यमले इनहेन्स्ड्स–हिट–फ्लक्स (इएचएफ) फस्ट वाल (एफडब्लू) खण्ड भनेर चिनिने कम्पोनेन्टको पूर्ण आकारको नमुना निर्माण सम्पन्न भएको र यसका मुख्य इन्डिकेटरले यो डिजाइनले मापदण्ड पूरा गरेको देखाएको उद्घोष गरेका छन् । ग्लोबल टाइम्सका अनुसार इएचएफ एफडब्लूको पूर्ण आकारको नमुना चीनको साउथवेस्टर्न इन्स्टिच्युट अफ फिजिक्सले विकसित गरेको हो । साउथवेस्टर्न इन्स्टिच्युट राज्य सञ्चालित चाइना नेसनल न्युक्लियर कर्पोरेसनबाट सम्बन्धनप्राप्त अनुसन्धान संस्था हो । 

आइटिइआरको रिएक्टरको महत्वपूर्ण भागका रूपमा रहने फस्र्ट वाल प्यानल (एफडब्लू) १० करोड डिग्री सेल्सियस तातो प्लाज्मासँग प्रत्यक्ष सम्पर्कमा आउने हिस्सा हो । वैज्ञानिकहरूका अनुसार प्लाज्माको सामना गर्ने आइटिइआरका ४४० फस्र्ट वाल प्यानल प्रत्येकको आकार एक मिटर लम्बाइ र डेढ मिटर चौढाइका हुनेछ ।  

‘यसलाई सरल भाषामा भन्नुपर्दा यो स्थानमा हामीसँग एउटा मेसिन हुनेछ, जसको केन्द्रमा एउटा सानो सूर्य जल्नेछ । यो सानो सूर्यले ऊर्जा उत्पादन गर्नेछ । हामीले त्यो ऊर्जालाई बिजुली उत्पादन गर्न प्रयोग गर्नेछौँ’, आइटिइआरका प्रवक्ता रोबर्ट अर्नोक्सको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपिले लेखेको छ ।
आइटिइआरको फस्र्ट वाल प्यानल उत्पादन गर्ने चिनियाँ प्रविधि अन्तर्राष्ट्रिय प्रमाणीकरण पास गर्ने पहिलो प्रविधि भएको छ । न्युज विकका अनुसार २२ अर्ब डलरको यो परियोजना सन् २०२५ बाट सञ्चालनमा आउने अनुमान छ । 
–एजेन्सी

सुझावित समाचार