विश्वकपमा घट्यो जर्सीको व्यापार

चुनावी माहोल र जाडो समयमा विश्वकप फुटबल प्रतियोगिता भएका कारण तुलनात्मक रूपमा यसपटक जर्सी बिक्रीमा कमी आएको व्यवसायीहरू बताउँछन्

सोमबार, १२ मंसिर, २०७९
डिजिटल संस्करण

विश्वकै पहिलो नम्बरमा पर्ने खेल फुटबलको विश्वकप प्रतिस्पर्धा मध्यपूर्वी एसियाली राष्ट्र कतारमा चलिरहेको छ । फुटबलको महाकुम्भ कतारको राजधानी दोहामा चले पनि माहोल भने विश्वभर फैलिएको छ । ट्रफीका लागि प्रतिस्पर्धामा रहेका ३१ राष्ट्रका विदेशी दर्शक आ–आफ्ना राष्ट्रलाई समर्थनका लागि कतारको चर्को गर्मीमा छन् । कतार पुग्न नसक्ने करोडौँ दर्शक घर–टोलमै टेलिभिजनको पर्दामा आफूलाई मनपर्ने टोलीको समर्थनमा हुटिङ दिइरहेका छन् । कतिपयले घरमै प्रोजेक्टर जोडेर लाइभकास्ट हरिरहेका छन् । 

नेपालमा पनि चिसो मौसममा विश्वकपको ताप बढेको छ । स्कुले विद्यार्थीदेखि नेता, कलाकार, व्यवसायीलगायत सबै क्षेत्रका फुटबलप्रेमी सम्भावित नतिजामाथि हरेक दिन अड्कलबाजी गरिरहेका छन् । सामाजिक सञ्जालहरूमा पनि विश्वकपकै बहस छ । विश्वकप फुटबलमा जर्सीको कारोबार विश्वभर नै व्यापक हुन्छ । जर्सी बेचेर उत्पादक कम्पनीहरूले विश्वकपको सिजनमै लाखौँ डलर कमाउँछन् । नेपालमा भने यसपालि विश्वकपको रापताप बढ्दा जर्सीको व्यापार भने उत्साहित छैन । 

ब्रान्डेड पसलदेखि फुटपाथसम्म जर्सीको व्यापार भए पनि अघिल्ला विश्वकपहरूमा झैँ यसपालि बिक्री नभएको बिक्रेताहरू बताउँछन् । चिसो मौसमले जर्सीको व्यापारमा असर गरिरहेको छ । काठमाडौं चाबहिलस्थित सिन्धु स्पोर्ट सेन्टरका सञ्चालक विश्व श्रेष्ठले विश्वकपका विभिन्न टिमका जर्सी व्यापार गर्दै आएका छन् । अघिल्लो विश्वकपमा सर्वाधिक जर्सी बिक्री भएको उनको अनुभव छ । यसपालि भने जर्सीको व्यापार घटेको बताउँदै उनले कारण पनि खुलाए, ‘विश्वकप फुटबलका अघिल्ला संस्करणमा महिनादिन अघिदेखि आफूले समर्थन गरेको देशको जर्सी प्रिन्ट गर्थे । तर, यसपालि जर्सी किन्नेहरू एक साता अघिमात्रै पसलमा आएका छन् । यसपटक जाडो मौसम र चुनावी प्रभावले विश्वकपको चहलपहल ढिला सुरु भयो । त्यस्तै, जर्सी व्यापार गर्ने पसलसमेत बढेकाले व्यापार कम भएको छ ।’

उनको पसलबाट विगतमा जस्तै यसपालि पनि अर्जेन्टिनाको जर्सी बढी बिकेको छ । श्रेष्ठका अनुसार दोस्रोमा पोर्चुगल र तेस्रोमा ब्राजिलको जर्सी बिकेको छ । पसलमा आउने ग्राहकले जर्सीसँगै सम्भावित विजेताबारे कुरा गर्ने उनले बताए । ‘प्रतियोगिताको नकआउट चरणपछि उपाधितर्फ लम्कने राष्ट्रका जर्सी किन्ने ग्राहक आउँछन्,’ उनले भने, ‘कतिपयले आफ्नो समर्थन गर्ने देशको जर्सी पहिले नै लगाउँछन् ।’ 

यसपटक ब्रान्डेड जर्सी किन्नेहरूको संख्या बढेको उनको भनाइ छ । अघिल्लो विश्वकपमा भन्दा यसपटक विश्वकमा २५ प्रतिशतले जर्सी महँगो भएको श्रेष्ठले बताए । 
न्युरोडस्थित जर्सी पसल नेपालका सञ्चालक सुमन शाहको अनुभव पनि श्रेष्ठको जस्तै छ । यसपटकको विश्वकपको चहलपहल ढिला भएर जर्सीको व्यापार कम भएको उनले बताए । नेपालमा मेसी र रोनाल्डोको फ्यान बढी भएकाले अर्जेन्टिना र पोर्चुगलको जर्सी बढी बिक्री हुने शाहको अनुभव छ । एसियाली देशको हकमा जापानको जर्सी बढी बिकेको उनले बताए । यसपटक अस्ट्रेलिया र अमेरिकाको जर्सी पनि बढी बिक्री भएको उनको भनाइ छ ।

 एउटै जर्सीको मूल्य १५ हजारसम्म

राजीव श्रेष्ठ

बहुराष्ट्रिय कम्पनी एडिडासले नेपालमा एउटै जर्सी १५ हजारसम्ममा बिक्री गरेको छ । एडिडासको नेपालस्थित आधिकारिक जर्सी विक्रेता राजीव श्रेष्ठले महँगो मूल्यमा जर्सी बिक्री भइरहेको बताए ।

उनका अनुसार कप्तान मेसीसँगै अर्जेन्टिनाले लगाउने होम जर्सी एडिडास कम्पनीले तयार पारेको छ । ‘अन्य पसलभन्दा हाम्रो जर्सी कम बिक्री भएको छ । किनभने हाम्रोमा ब्रान्डेड जर्सी मात्रै पाइन्छ । ब्रान्डेड जर्सी लगाउने समर्थक मात्रै आएका छन्,’ उनले भने, ‘एडिडास कम्पनीले नेपालमा एउटा जर्सीको १५ हजार रुपैयाँसम्म मूल्य तोकेको छ । नेपालमा एडिडास कम्पनीले उत्पादन गरेको अर्जेन्टिना, जर्मनी, स्पेन, ब्राजिल, पोर्चुगल, स्पेनलगायत देशका जर्सी उपलब्ध छन् ।’

सुझावित समाचार