पर्वतमा गठवन्धन पराजित, तीनवटै सिटमा एमालेको जित

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

गत आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पर्वतमा गठबन्धनका उम्मेदवारले पराजय भोग्नुपरेको छ । एक मात्र प्रतिनिधि सभा क्षेत्र र दुई प्रदेश सभा क्षेत्र रहेको यहाँ तिनवटै सिट नेकपा एमालेले हात पारेको छ । 

बिहीबार बिहान सम्पन्न भएको मतगणनाको परिणाम अनुसार प्रतिनिधि सभामा एमालेका उम्मेदवार पदम गिरीले सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार अर्जुन प्रसाद जोशीलाई दुई हजार दुई सय ६३ मतको अन्तरले पराजित गरेका छन् । गिरीले २९ हजार ८ सय ७२ मत पाउँदा जोशीले २७ हजार सय नौ  मत पाएका छन् । 

पर्वतको प्रदेशसभा ‘१’ मा एमालेका उम्मेदवार भक्त बहादुर कुँवरले नेकपा (माओवादी केन्द्र) उम्मेदवार सुदीप कुँवरलाई दुई हजार तीन सय ३९ मतको अन्तरले पराजित गरेका छन् । भक्तले १६ हजार ८१ मत पाउँदा सुदीपको पक्षमा १३ हजार सात सय ४२ मत परेका छन् ।यस्तै प्रदेशसभा ‘२’ मा पनि एमालेका उम्मेदवार मित्रलाल बस्यालले नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारीलाई एक हजार नौ सय २२ मतको अन्तरले पराजित गरेका छन् । बस्यालले १४ हजार एक सय ३२ मत पाउँदा तिवारीले १२ हजार २१० मत पाएका छन् ।

एमालेका केन्द्रीय सदस्य समेत रहेका गिरीले यो संसदिय यात्रा दोस्रो पटक हो । २०७४ सालको निर्वाचनमा पनि गिरी र जोशी नै आमनेसामने भएका थिए । त्यो बेलामा गिरीले जोशीलाई १२ हजार चार सय ५६ मतको अन्तरमा पराजित गरेका थिए । गिरीले ३९ हजार दुई सय ७५ मत प्राप्त गर्दा जोशीले २६ हजार ८ सय १९ मत प्राप्त गरेका थिए ।

पहिलो पटक २०५६ सालको संसदीय निर्वाचनमा पर्वत क्षेत्र नं. १ बाट विजयी बनेका जोशी संविधानसभा निर्वाचन २०६४ मा तत्कालीन नेकपा माओवादीकी उम्मेदवार मनरुपा सुवेदी र २०७० मा पनि माओवादीकै उम्मेदवार नेत्र अधिकारीलाई पराजित गर्दै लगातार तीन पटकसम्मको संसदीय निर्वाचनमा ‘ह्याट्रिक’ गर्न सफल भएका थिए । २०७४ सालको निर्वाचनमा चौथो र अहिले पाँचौँ पटक संसदीय निर्वाचनमा होमिएका जोशीलाई फेरी पनि गिरीले पराजय गराए । 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा प्रदेश सभा ‘क’ मा नेकपा (माओवादी केन्द्र) का नेत्रनाथ अधिकारी र प्रदेश सभा ‘ख’ मा एमालेका विकास लम्साल विजयी भएका थिए । यस पटक पर्वतमा ५५ प्रतिशत मत खसेको थियो । निर्वाचन अधिकृतको कार्यालयले भने समानुपातिकको मतगणनापश्चात मात्र औपचारिक घोषणा गर्ने बताएको छ । 
 

See More On

सुझावित समाचार