प्रतिनिधि सभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको जुम्ला ढिला गरी पौने चार बजेबाट मत गणना सुरु भएको छ । सदरमुकाम खलंगास्थित जिल्ला अदालत परिसरमा गणना सुरु भएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभाको सबै मत एकै पटक गणना सुरु गर्ने सहमतिपश्चात् गणनास्थल निर्माण गर्दा मत गन्न ढिलाई भएको हो । जिल्लामा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट गोमा गौतम कुँवर, एमालेबाट रतननाथ योगी र राप्रपाबाट ज्ञानेन्द्रबहादुर शाही चुनावी मैदानमा छन् ।नेमकिपाबाट डिल्लीप्रसाद काफ्ले उम्मेदवार छन् ।
यस्तै प्रदेश सभा १ मा प्रत्यक्षतर्फ कांग्रेसका प्रदेश सभापति ललितजंग शाही गठवन्धनबाट उम्मेदवार बनेका छन् भने कांग्रेसकै बागी देवेन्द्रबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेका धिरेन्द्रराज गिरी र नेमकिपाका राजेश्वर देवकोटा यस क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
प्रदेश सभा २ मा गठवन्धनबाट एकिकृत समाजवादी पार्टीका पदमबहादुर रोकाया, एमालेका टेकराज पछाई, राप्रपाका देवप्रसाद न्यौपाने र नेमकिपाका विर्खबहादुर रावत र स्तन्तन्त्रबाट कांग्रेसकै धनबहादुर बस्नेत उम्मेदवार छन् । राती २ बजेसम्म लगाएर सदरमुकाम खलंगामा मतपेटिका संकलन गर्ने कार्य सकिएको थियो । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार जुम्लामा ६५ प्रतिशत मत खसेको छ । जुम्लाको कुल मतदाता ६८ हजार ६ सय ३८ मध्ये ४५ हजार ६५ मत खसेको छ । २३ हजार पाँच सय ७३ जना मतदाताले मतदान गरेका छैनन् ।
जुम्लामा पुरुषभन्दा महिला मतदाताले बढी मतदान गरेका छन् । खसेको कुल मत ४५ हजार ६५ मध्ये २३ हजार एक सय दुई जना महिला र २१ हजार नौ सय ९७ पुरुष मतदाताले मतदान गरेका छन् ।