हिमाली जिल्ला मनाङमा सेनाको हेलिकाेप्टरमार्फत मतपेटिका सदरमुकाम चामे ल्याइएको छ।
जिल्ला निर्वाचन कार्यालय मनाङका अनुसार सेनाको हेलिकाेप्टरमार्फत नार्पाभूमि गाउँपालिका १ देखि ३ वडासम्म नार गाउँको ३ वटा मतदान केन्द्र साथै ४ र ५ वडा फूको २ वटा मतदान केन्द्रको मतपेटिका सदरमुकाम चामे ल्याइएको हो।
नार्पाभूमिबाट सदरमुकामसम्म आउन करिब ३ दिन लाग्ने भएपछि हेलिकाेप्टरमार्फत मतपेटिका ढुवानी गरिएको हो।
शसस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी दुर्गा थापाका अनुसार हेलिकाेप्टरले ढुवानी गरेको मतपेटिकालाई कडा सुरक्षाका बीच जिल्ला अदालतको मतगणनास्थलमा राखिएको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नार र फू गाउँको मतपेटिकालाई सेनाको हेलिकप्टरबाट दुईरदुई पटक गरेर चामे ल्याएको बताए ।
मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले नार र फूबाट मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको र सर्वदलीय बैठकपछि आज नै गणना गरिनेछ।
जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार कुल ४ सय ६८ मतदाता रहेको नार्पाभूमि गाउँपालिकामा ३ सय १८ मत खसेको छ।
मनाङमा मतदाता ६ हजार ७ सय ७९ रहेकोमा ४ हजार ८ सय ४५ अर्थात् ७१ दशमलब ४७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार २ हजार ४ सय ८६ महिला र २ हजार ३ सय ५९ पुरुषले मतदान गरेका छन्।