रुकुम पश्चिममा मतदान बिथोल्न खोज्ने विप्लवका ३ कार्यकर्ता पक्राउ

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

रुकुम पश्चिममा मतदानमा अवरोध प्रयास गर्ने विप्लव नेकपाका तीन कार्यकर्ता पक्राउ परेका छन्। जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ५, ११ र १३ मा मतपत्र च्यात्ने र मतपेटिकामा लात्ति हानेर अवरोध गर्न प्रयास गर्ने तीनजना पक्राउ परेका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए।

पक्राउ पर्नेमा युवा संगठनका जिल्ला संयोजक महेश बस्नेत, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हरि पुन र संगठनका जिल्ला सम्मेलन आयोजक समिति सदस्य राकेश विक रहेका छन्। बस्नेत वडा नम्बर ५ को गोतामकोट, पुन वडा नम्बर १३ को निमावि घेत्मा र विक वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि मतदान स्थलबाट पक्राउ परेका हुन्।

मतदानमा अवरोध गर्न खोज्नेलाई पक्राउ गरिएको र मतदान भने जारी रहेको प्रजिअ घिमिरेको भनाइ छ। अहिले सुरक्षा व्यवस्था थप कडा पारेर मतदान चलिरहेको उनले बताए। विप्लव नेतृत्वको नेकपा र नेकपा बहुमतलगायतका दलले घोषित रुपमै चुनाव बहिष्कार गरेका छन्। उनीहरुले देशका विभिन्न स्थानमा चुनाव विथोल्न प्रयास गरिरहेका छन्।
 

सुझावित समाचार