जुम्लामा ३६ प्रतिशत मत खस्यो

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि जुम्लामा ३६ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार दिउँसो साढे १ बजेसम्म ३६ प्रतिशत मतदान भएको हो।  

एक सय ६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेको जुम्लामा एक प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र छन्। यहाँ कुल ६८ हजार ६ सय ३८ मतदाता छन्।

चन्दननाथ नगरपालिका ४ भारतीवाडास्थित अशोक आधारभूत विद्यालय मतदान केन्द्रमा १ हजार ५ मतदातामध्ये ३१३ मत खसेको छ। 

हिमा गाउँपालिका ३ मोफ्ला गाउँस्थित राहदेव माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’ र ‘ख’ मा एक हजार दुई सयमध्ये तीन सय ७८ मत खसेको छ। हिमा गाउँपालिका ७ मष्टमान्डुस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रमा पाँच सय १७ मध्ये दुई सय ४७ मत खसेको सहायक मतदान अधिकृत उमेश न्यौपानेले बताए। 

तिला गाउँपालिका ४ को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा एक हजार दुई सय ७६ मध्ये ६ सय मत खसेको छ। पातारासी गाउँपालिका ७ रिनीगाउँस्थित सरस्वती माध्यमिक विद्यालय मतदान केन्द्रमा पाँच सय ६७ मध्ये दुई सय ९० मत खसेको छ। 
कनकासुन्दरी गाउँपालिका ४ हाँडसिजास्थित कालिका आधारभूत विद्यालय मतदान केन्द्रमा पाँच सय ९५ मध्ये तीन सय ११ मत खसेको छ।

सिजां गाउँपालिका १ धाँपा गाउँस्थित मालिका माध्यमिक विद्यालय मतदान केन्द्र (क) का मतदान अधिकृत तुलाराज चौलागाईंका अनुसार ६ सय ४४ मध्ये चार सय दुई मत खसेको छ। सोही विद्यालयको ‘ख’ मतदान केन्द्रमा ६ सय ७७ मध्ये तीन सय ८० मत खसेको छ।

सुझावित समाचार