मध्याह्नसम्म छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार केही ठाउँमा झडप, वादविवाद भएपनि मतदान सुचारु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ।
बिहान ७ बजेबाट मतदान सुरु भए पनि हालसम्म कति मत खस्यो भनेर निर्वाचन आयोगले यकिन गर्न सकेको छैन। सहायक प्रवक्ता अर्यालका अनुसार मतदान केन्द्रमार्फत सफ्टवयेरमा सही तथ्यांक प्रविष्ट नहुँदा मत यकिन हुन नसकेको हो। ‘केही क्षेत्रको हेर्दा २२ देखि २८ प्रतिशतसम्म मत खसेको देखिन्छ,’ उनले भने, ‘कुल मत कति खस्यो भनेर अहिले भन्न सकिने स्थिति छैन। मतदान केन्द्रबाट सफ्टवेयरमा प्रवष्टि गर्दा केही ठाउँबाट गलत पठाएका छन्।’
आयोगले कुल ७० प्रतिशत मत खस्ने आकलन यसअघि नै गरिसकेको छ। प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्। देशभर २२ हजार २२७ मतदान केन्द्रबाट मतदान भइरहेको छ।
प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४१२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ। प्रदेश सभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचनका लागि ३ हजार २२४ उम्मेदवार छन् भने प्रदेश सभाको समानुपातिकतर्फ ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ।
प्रतिनिधिसभा तथा प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।