अन्तिम कसरतमा गुरु- चेला

बिहिबार, १ मंसिर, २०७९
डिजिटल संस्करण

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार अन्तिम चुनावी प्रचारमा छन्। आज बेलुकी मध्यरातिबाट मौन अवधि सुरु हुने भएकाले चुनावी प्रचारको चटारो छ। यो क्षेत्रमा मुख्य गरी सत्तागठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका विरोध खतिवडा र एमालेका उम्मेदवार महेश बर्तौला मुख्य प्रतिस्पर्धी देखिएका छन्। यी दुईबीचको भिडन्तको चर्चा पनि ज्यादा छ। चर्चाको कारण हो, गुरु र चेलाबीचको भिडन्त।

विरोध खतिवडाले आफ्नो सिंगो राजनीतिक जीवन एमालेमा बिताए। पछिल्लो डेढ वर्षदेखि भने उनी एकीकृत समाजवादीमा क्रियाशील छन्। एकीकृत समाजवादी उनी आफूसमेत मिलेर गठन गरेको पार्टी हो। अर्थात् एमाले विभाजन गरेर बनाएको पार्टी । 
एमालेमा रहँदा उनी ०४८ सालदेखि पटकपटक सांसद बने। तर, कहिल्यै मन्त्री बन्न सकेनन्। एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीबाट उनी तत्कालै स्वास्थ्यमन्त्री बने। मुलुक कोरोनाको कहरमा रहेका वेला उनी स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा थिए। ०४८ सालदेखि लगातार चुनावी प्रतिस्पर्धामा रहेका खतिवडाले ०४८, ०५१, ०५६ र ०७४ गरी चारपटक सांसद जितेका थिए।

एकीकृत समाजवादीको स्थायी कमिटी सदस्यसमेत रहेका खतिवडासँग अहिले विद्यार्थी राजनीतिबाट भर्खरै पार्टी राजनीतिमा हिँड्दै गरेका महेश बर्तौला प्रतिस्पर्धी बनेर उभिएका छन्। अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भइसकेका बर्तौला अहिले एमालेको बागमती प्रदेश सहसचिव छन्। 

यी दुई कुनै समय नेता र कार्यकर्ताको रूपमा राजनीतिक कार्यक्रममा सँगसँगै हुन्थे। बर्तौलाले खतिवडालाई राजनीतिक गुरुसमेत मानेका थिए।
०७४ को संसदीय चुनावमा खतिवडाको चुनाव प्रचारप्रसारमा हिँडेका बर्तौला आज खतिवडाको विरुद्ध आफैँलाई भोट मागेर हिँडिरहेका छन्। यो अवस्था आउनुमा कुनै समय दुवैजना सँगै रहेको पार्टी नेकपा एमाले विभाजन प्रमुख कारण हो।

गुरु दक्षिणा दिने कि लिने ?
मकवानपुरको राजनीतिमा सदाबहार खेलाडीका रूपमा चिनिने खतिवडाले चारपटक संसदीय चुनाव जितिसकेका छन्। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतलाई आधार मान्दा उनी पाँचौँ जितको संघारमा छन्। यस क्षेत्रमा स्थानीय तह निर्वाचनमा एकाध वडाबाहेक अधिकांश वडामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए। 

मनहरी, राक्सिराङ, कैलाश, भीमफेदी, थाहा नगरपालिका, गढी गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडा तथा हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १, ३, ११ र १९ नम्बर समेटिएको यस क्षेत्रमा कुल १ लाख ५० हजार ५ सय ७८ मतदाता छन्।

यसक्षेत्रमा पर्ने पालिकाका सम्पूर्ण वडाका वडाध्यक्षहरूले प्राप्त गरेको मतलाई गणना गर्ने हो भने ३६ हजार ५९२ मतका साथ एमाले पहिलो, ३४ हजार ५१४ मतका साथ कांग्रेस दोस्रो, २२ हजार ६०७ मतका साथ माओवादी तेस्रो, २ हजार ७०८ मतका साथ समाजवादी चौथो र १४ सय ५४ मतका साथ राप्रपा पाँचौँ स्थानमा छ।
गठबन्धनका दलहरूको मतलाई एकैठाउँमा जोड्दा सत्तागठबन्धनसँग ५९ हजार ८ सय २९ मत देखिन्छ। यस हिसाबले सत्तागठबन्धन एमालेभन्दा २२ हजार बढी मतले अगाडि देखिन्छ। 
यस निर्वाचन क्षेत्रमा पर्ने पाँचवटा पालिका र हेटौँडाका तीनवटा वडा र मकवानपुर गढीका चारवटा वडामध्ये मनहरी, राक्सिराङ र कैलाशमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले जितेको छ। यस्तै, थाहा नगरपालिकामा पनि गठबन्धनको तर्फबाट प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसले जितेको छ। 
तर, इन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको छ भने भीमफेदीमा अध्यक्ष एमाले र उपाध्यक्ष कांग्रेसले जितेको छ। यसैगरी, यस क्षेत्रमा पर्ने हेटौँडाको तीनवटा वडामध्ये दुईवटामा एमालेले र एउटामा कांग्रेसले जितेको छ। यस्तै, गढी गाउँपालिकाका चारवटै वडामा भने कांग्रेसले जितेको छ । 
चर्चामा पराजुली पनि
स्थानीय तहको मतका आधारमा यस क्षेत्रमा गठबन्धन र एमालेबीचमा स्पष्ट प्रतिस्पर्धा देखिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका भरत पराजुली पनि चर्चामा छन्। लामो समय कांग्रेसको राजनीति गरेका पराजुली हालै पार्टी परित्याग गरी हाल रास्वपाबाट उम्मेदवार बनेका हुन्। 

सुझावित समाचार